काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर सरकार सञ्चालन गरिराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले मैले जे सोच्छु त्यही नै ध्रुब सत्य हो भन्ने मानसिकताबाट बाहिर निस्किनुनपर्ने बताएका हुन् । नेता महतले कतिपय सन्दर्भमा प्रधानमन्त्री ओलीले नियुक्तिमा आफ्ना मान्छेमात्रै पठाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
‘यो गठबन्धनको सरकार हो । गठबन्धन सरकार भनेकै के हो भने–एकअर्काको दृष्टिकोणलाई आत्मसात गर्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का, मैले जे सोच्छु, त्यही नै ध्रुबसत्य हो भन्ने मानसिकताबाट सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले चाहिँ यसलाई सबैको भावनालाई समेटेर, गठबन्धनको कांग्रेस मूल सहभागी दल छ । सबैभन्दा ठूलो दल पनि हो । हाम्रो पार्टीले अनावश्यक कुराहरु पनि राख्दैन । अनावश्यक अप्ठ्यारो पार्ने कुराहरु पनि गर्दैैन । गठबन्धनको स्पिरिटअनुसार प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्छ र यसको प्रभावकारिता बढाउनुपर्छ । पारदर्शिता सुनिश्चित गर्नुपर्छ,’– उनले भने ।
साथै, उनले निजामति सेवा विधेयकमा उल्लेख भएको कुलिङ पिरियडको पक्षमा कांग्रेस रहेको बताए । कुलिङ पिरियडको सन्दर्भमा कुनै पनि सम्झौता नहुने उनले बताए । ‘कुलिङ पिरियडको बारेमा सुस्पष्ट रुपमा, सर्वसम्मतिबाट संसदीय उपसमितिमा कुलिङ पिरियड राख्ने भन्ने निर्णय भएकै हो । कसरी फुल हाउसमा पुग्दा त्यो हटेर गयो ? त्यसैमाथि छानविन समेत भइराखेको छ । एमालेकै साथीहरुले पनि प्रश्न उठाउनुभएको थियो । अहिले संशोधन गरेर हटाउने भनेर अपर हाउसमा कसरी आइरोखको छ ? मैले बुझ्न सकेको छैन । कांग्रेस गम्भीर छ, कुलिङ पिरियड हुनैपर्छ, राख्नैपर्छ । त्यसमा कुनै सम्झौता हुन सक्दैन,’– उनले भने ।




प्रतिक्रिया