अब पशुपतिनाथ दर्शन गर्न आउनेलाई निःशुल्क यातायात


काठमाडौं । यस वर्षको साउने सोमवारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक-सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यसँग हिजो (सोमबार) भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताएका हुन् ।

साउन महिनाको सोमवार र शनिवार पनि धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा आराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त उनले जानकारी दिए ।

“पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । बिहान चार बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ । साउने सोमबारका अवसरमा साउनको पहिलो सोमवार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्”, सदस्यसचिव जोशीले भने ।

मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमवार सजिलै सित दर्शन गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । यसका साथै नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिरबाहिरको भागमा ‘टेन्ट’ राख्ने भएको छ ।

साउने सोमवारको सुव्यवस्थाका लागि कोषले सञ्चालक परिषद् सदस्यलाई पनि बिहान तीन बजेदेखि नै परिचालन गर्नेछ । त्यस अवसरमा कोषले पशुपतिनाथ मन्दिरमा सात हजार पाँच सयभन्दा माथिका मात्र विशेष पूजा गर्ने जनाएको छ ।

साउने सोमवारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ । यहाँ सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ । छलफलमा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले साउने सोमबारलगायत ठूला पर्वमा पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकारलाई सहज रूपमा सूचना दिने र पशुपति क्षेत्रमा ‘मिडिया सेन्टर’ खोल्न माग गरेका थिए ।