एमालेले भन्यो : सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको छ, ७ बुँदेप्रति प्रतिबद्ध छौं


काठमाडौं, ७ साउन । नेकपा (एमाले) ले सरकारको एक वर्षको समिक्षा गर्दै अहिले अस्थिरताका यावत् प्रयासलाइ चिर्दै बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको दाबी गरेको छ । पार्टीको केन्द्रीय कमिटीको नवौं बैठकले पारित गरेको विभिन्न प्रस्तावमा सरकारको समिक्षापनि गरिएको थियो ।

बैठकपछि एमालेले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एमाले र नेपाली काँग्रेसबीच सम्पन्न ७ बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । अस्थिरताका यावत् प्रयासलाई चिर्दै सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको छ । राजावादीहरूद्वारा गरिएको प्रतिक्रान्तिको दुष्प्रयासलाई विफल तुल्याइएको छ । महत्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ ।’

केन्द्रीय कमिटी बैठकले निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको समेत दाबी गरेको छ । यो सरकार आएपछि अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ सुरु गरिएको दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको पनि एमालेले सरकारको एक वर्षको उपलब्धिमा राखेको छ ।

प्रस्तावमा भनिएको छ,‘दैलेखमा नेपालको ५० वर्षसम्मको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय हो । सरकारले बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको उपस्थिति, एजेण्डा र भूमिकालाई प्रभावकारी बनाउँदै लगेको छ । सहकारी क्षेत्रका बेथितिहरूलाई सम्बोधन गर्दै बचतकर्ताहरूको बचत फिर्ता गराउने र अनियमिततामा सङ्लग्नहरूलाई कानुनी दायरामा ल्याउने काम पनि अगाडि बढेको छ । हालै श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ ।’

यस्तै, केन्द्रीय कमिटील्े वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दैै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहो¥याएको छ । वर्तमान सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वानसमेत गरेको छ ।