काठमाडौं, ७ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देवता भेट्न सजिलो भएको तर परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेट्न निकै गाह्रो भएको गुनासो पोखेका छ्न । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रौतहटका एक जना युवा युक्रेनमा फसेको विषयमा भेट्न खोज्दा मन्त्री राणासँग भेट नै हुन नपाएको भन्दै यस्तो गुनासो पोखेका हुन् ।
रौतहटका जयप्रकाश साह विगत एक वर्षदेखि युक्रेनमा फसेको र अहिलेसम्म उद्धार नभएकोमा साहले आक्रोश पोखे । उनले भने,‘सम्माननीय सभामुख महोदय, रौतहटका जयप्रकाश साह युक्रेनमा झण्डै एक वर्षदेखि फसेका छन् , जयप्रकाशजस्तै सयौं नेपालीहरु युक्रेनमा फसेका छन् । तर, उनीहरुलाई उद्धार गर्ने कसैको चासो छैन । जयप्रकाशकी श्रीमती बच्चा बोकेर काठमाडौंका सरकारी निकाय धाईरहेकी छिन् । तर, न्याय पाएकी छैनन् । मैले यसमा नजिकबाट यसो हेर्दा देवता भेट्न सजिलो छ, तर परराष्ट्रमन्त्री भेट्न गारहो छ । सरकारले उद्धार गर्न नसक्ने, तर मान्छे बेचविखन गर्नमा ईन्ट्रेष्ट भएको देखें ।’
पीडित परिवारले आफ्नो मान्छेलाई पोर्चुगल पठाउँछु भनेर एजेन्टले युक्रेन पठाएको भनेर प्रहरीमा उजुरी दिएको तर अहिलेसम्म न्याय नपाएको पनि साहले स्मरण गराएका छन् । साहले मधेशका जनता खानेपानीको हाहाकारमा बाँच्नुपरेको भन्दै सरकारले केही राहत नदिएकोमा आक्रोश पोखे । सरकारमा बसेका प्रधानमन्त्री र मन्त्रीहरुले विदेशी मिनरल वाटर पिएको तर जनतालाई नेचुरल वाटरपनि उपलब्ध नगराएको भन्दै साहले सरकारको शैलीको विरोध गरेका छन् ।




प्रतिक्रिया