काठमाडौं, ८ साउन । विश्वकै नेतृत्वदायी विद्युतीय कार उत्पादन कम्पनी बीवाईडी ग्रुपले इटालीको प्रसिद्ध फुटबल क्लब इन्टर मिलानसँग रणनीतिक साझेदारी गरेको छ । क्लबसँग ग्लोबल अटोमोटिभ पार्टनरको रुपमा यो साझेदारी आगामी तीन वर्षको लागि हुने जनाईएको छ ।
यो सम्झौता अटोमोटिभ र फूटबल दुनियाँको लागि महत्वपूर्ण मानिएको छ । यो साझेदारीसँगै विशेष कस्टमाईज जर्सीसमेत सार्वजनिक गरिएको थियो । उक्त कस्टमाईज जर्सी भने इन्टर मिलानका अध्यक्ष तथा सिईओ गुईसेप मारोटा, बीवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला ली र इन्टर मिलानका चिफ रेभिन्यू अफिसर जर्जियो रिक्कीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले इन्टर मिलानसँगको यो सहकार्यले राम्रो विश्व निर्माणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्–‘बीवाइडी नाम नै प्रष्ट छ–विल्ड युयोर ड्रिम्स, मलाई लाग्छ यो सहकार्य युवा पुस्ताको लागि पनि सपना हो, जसले फुटबललाई माया गर्नुहुन्छ । जहिलेपनि सफलताकोलागि मैदानमा उत्रिने इन्टर मिलान अहिले विश्वमै लोकप्रिय ब्राण्ड बनेको छ । यो क्लबको विश्वव्यापी रुपमा फ्यान छन् । बीवाईडी पनि द्रुत गतिमा प्रगति गरेको ब्राण्ड हो । यो ग्लोबल ग्रिन टेक्नोलोजी कम्पनी हो, जसले जलवायु परिवर्तनको लागि लडिरहेको छ । पूरा पृथ्वीलाई एक डिग्रीमा राख्ने लक्ष्य लिएको छ । अहिले हामी यस उद्देश्यको लागि दिनरात काम गरिरहेका छौं । हामीसँग एक लाख २० हजार ईन्जिनियरहरु काम गरिरहेका छन् । उनीहरु जित्न चाहन्छन्, त्यसैले उनीहरु आफ्नो काममा आनन्द मानिरहेका छन् ।’
मिलान क्लबका चिफ रेभिन्यू अफिसर जर्जियो रिक्कीले बीवाईडीले आफ्नो क्लबसँग साझेदारी गरेकोमा खुशी व्यक्त गरेका छन्। यो साझेदारीले पनि क्लबको लोकप्रियता र विश्वव्यापी आकर्षण प्रमाणित गर्ने उनको भनाई छ ।





प्रतिक्रिया