काठमाडौं, १० साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ पढ्नका लागि सुझाएका छन् । नेता थापाले तत्कालीन समयमा केपी शर्मा ओलीले लेखेको उक्त दस्ताबेज पढ्नका लागि सुझाएका हुन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने एमालेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘यस पुस्तक (जबज र पार्टी जीवनको लोकतान्त्रिकरण) लाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रीत होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन । गाली गरेका भरमा पद पाईदैन कि भन्ने डरले सत्य छोड्न त सकिदैन है ।’
नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा समेत नेता थापाले नोट अफ डिसेन्ट राखेका थिए । नेता थापा भण्डारी राजनीतिमा आउन पाउनुपर्ने पक्षमा छन् ।
‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ मा ओलीले ७० वर्षे उमेर हदको बारेमा प्रश्न उठाएका थिए । एमालेमा अहिले उमेर हद हटाउने विषय चर्चामा रहेको छ । ओली दुई पटक एमालेको अध्यक्ष भइसकेका छन् । विधानतः अब उनी तेस्रो कार्यकाल पार्टी अध्यक्ष हुन पाउँदैनन् । अर्कोतर्फ विधानमा रहेको ७० वर्षे उमेर हद लागू हुने हो भने उनको राजनीति समाप्त हुने अवस्था रहेको छ । आगामी भदौ २० देखि हुने एमालेको विधान महाधिवेशनमा उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने गरी प्रस्ताव लगिने तयारी रहेको छ ।
‘कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भिर समस्याको रुपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अबकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आबश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहाने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोबैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौ वाञ्छित अवाञ्छित प्रयत्नहरु गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध अबैध उपायहरु अबलम्बन गर्ने स्थिति देखा परेको छ । यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडवाजी, गुटबन्दी र षडयन्त्रमुलक कृयाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तिब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मुर्त प्रबन्धको माग गरिरहेको छ,’– ओलीले लेखेको ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ दस्ताबेजमा भनिएको छ ।




प्रतिक्रिया