राजनीतिमा लागेकाहरूले बाँचुञ्जेलसम्म कुर्सीको मोह राखेको र भ्रष्टाचार गरेको भन्दै ऋषि धमला फायर, विद्यार्थीहरूलाई यस्तो छ टिप्स (भिडिओ-सहित)


काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपालका नेताहरू बाँचुञ्जेल पदमा बस्ने गरेको र भ्रष्टाचारमात्रै गरेकोले देशको यो हबिगत भएको बताएका छन् । आज (सोमबार) ललितपुरको पिनाकल एकेडेमीले आयोजना गरेको ओरिएन्टेशन कार्यक्रमलाई अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विश्वका नेताहरू पदबाट रिटार्यड भएपछि अध्यापनमा लागेको तर नेपालका नेताहरु बाँचुञ्जेलसम्म पदमा बस्ने र देश लुट्ने काम गरेको भन्दै धमलाले आक्रोश पोखे । उनले आफू भोलि पत्रकारितामा सक्रिय हुन नसक्ने हो भने यो पेशाबाट बाहिरिएपछि पनि केही नवीन काम गरेर बाँच्ने योजना र साहस बोकेको पनि सुनाए । तर, राजनीतिमा भएकाहरुले भने जहिल्यैपनि कुर्सीमात्रै ताक्ने गरेको भन्दै शरदसिंह भण्डारी नेपालमा २० पटकसम्म मन्त्री बनेको भन्दै उदाहरण पेश गरे ।

नयाँ विद्यार्थीहरुलाई आजबाट सुरु भएको उच्च शिक्षाको यात्राको सफलताको शुभकामना दिँदै धमलाले सफलभन्दापनि असल बन्न प्रेरित गरे । उनले इमानदारिताका साथ मेहनत गर्नसके सफलता हात लाग्ने भन्दै विद्यार्थीहरुलाई मेहनत र धैर्यता नत्याग्न सुझाए । आफूले श्रम गरेर नै आज मिडिया उद्योग चलाउन सफल भएको सुनाए । आफूले टिभी, अनलाईन, रेडियो र क्लबलगायत सबै विद्याका मिडियाहरु सञ्चालन गरिरहेको र सयौंको संख्यामा रोजगारी सिर्जना गरेको पनि धमलाले बताए ।

धादिङको सामान्य गाउँबाट काठमाडौं आएर आफूले श्रम गरेर मिडिया उद्योग सञ्चालन गर्न सकेको भन्दै कर्म गरेर सफलता हाँसिल गर्न सकेकोमा गर्व गर्दै सफलताको कथा सुनाए । धमलाले आजको युग सूचनाको युग भएकोले सफल बन्नको लागि सूचना राख्नैपर्ने पनि युवा पुस्तालाई टिप्स दिए । सूचना र प्रविधिको सही उपयोगसँगै आजको पुस्ताले परिवार, समाज र देश बुझ्नुपर्ने पनि बताए ।

उनले आफू देशको कुनाकुनासम्म पुगेको र अभियान जारी राखेको बताए । उनले भने,‘म अहिले गाउँदेखि शहर, कुना काप्चासम्म पुगेको छु । गुणस्तरीय शिक्षा आजको आवश्यकत्ता हो । नेपाल बनाउने विद्यार्थीहरुले हो । शिक्षामा उद्यमशिलता, सिप, क्षमता वृद्धि गराउनुपर्छ । विद्यार्थीहरु सिर्जनाशील हुनुपर्छ ।’ धमलाले उच्च शिक्षा हासिल गर्न विदेश गएपनि सिप, क्षमता र पुँजी नेपाल ल्याई यहाँको विकासमा लगाउनको लागि विद्यार्थीहरुलाई सुझाव दिए ।