काठमाडौं, १३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीचको जारी तनावको बेलामा दुनियाँको कोही पनि नेताले भारतको अपरेशन सिन्दूर रोक्नको लागि नभनेको स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भारत र पाकिस्तानको युद्ध रोकेको दाबी गरेपछि भारतले यसको खण्डन गर्दै आएको छ । यो विषय भारतीय संसदभित्र पनि राजनीतिको मसला बनेको छ । अहिले जारी भारतीय लोकसभाको मनसुन सेसनमा बोल्दै प्रधानमन्त्री मोदीले ट्रम्पको दाबीलाई सिधै खारेज गरेका हुन् ।
लोकसभामा मोदीले भने-“दुनियाँको कोही पनि नेताले भारतको अपरेशन रोक्नको लागि भनेको थिएन । त्यही दौरान ९ तारिखको रातमा अमेरिकाका उपराष्ट्रपतिजीले मसँग कुरा गर्नको प्रयास गरेका थिए, उनले घण्टौंसम्म कुरा गर्नको लागि प्रयास गरेका थिए । तर, म सेनासँग मिटिंगमा थिएँ । मैले उनको फोन उठाउन पाईनँ । मैले पछि कल ब्याक गरेको थिएँ । उनले मलाई पाकिस्तानले ठूलो हमला गर्नेवाला छ भनेर भनेका थिए । मेरा जवाफ थियो कि अगर पाकिस्तानको यो इरादा छ भने उसलाई यो धेरै महँगो पर्नेछ । यदि पाकिस्तानले हमला गर्यो भने त्योभन्दापनि ठूलो हमला गरेर जवाफ दिनेछौं भनेको थिएँ । यो मेरो जवाफ थियो ।”




प्रतिक्रिया