रवि लामिछाने अहिले रिहा हुने मामिला बनेको छैन, उहाँलाई गलत कानूनी सल्लाह दिइयो : डा. त्रिपाठी (भिडिओ सहित)


काठमाडौं, २६ साउन । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सहकारी ठगीमा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेको अहिले रिहा हुने मामिला नबनेको दाबी गरेका छन् । उनले भने,‘अहिले उहाँ (रवि लामिछाने) को रिहा हुने मामिला बन्दैन । किन बन्दैन भने पहिलो कुरा अदालतले न्याय निरुपण गर्नुपर्यो । कसको लाईव्लिटिज कति हुन्छ ? पहिलो कुरा त हि इज अण्डर ब्याड एडभाईस । यो आँफैमा आत्मघाती हो । उहाँले आँफैले ट्रायल प्रोसेस अगाडि नबढ्दै उहाँले स्विकार गर्नुभयो कि मेरो दायित्व यति छ भनेर । पैसा बुझाउनुभयो, त्यो नै सुसाईडल हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले रवि लामिछानेको मुद्दाको हकमा बिगो कति हो भन्ने कुरा अहिले नै निर्धारण नहुने बताए ।

उनले भने,‘त्यो त अदालतले फैसला गर्दाखेरि तपाईंले यति रकम, कलम खाएको, पचाएको, लिएको, अपचलन गरेको त्यो प्रमाणद्धारा अदालतले बोल्नुपर्यो । अनि त्यसको आधारमा उहाँको दायित्व यो हुँदोरहेछ भनेर थाहा हुन्छ । यो कुनै देवानी मुद्दा होईन । यो ठगी मुद्दा हो । यसमा पनि मिलापत्र हुनसक्छ । तर, दुवै पक्षले निवेदन दिनुपर्छ ।’