काठमाडौं, २७ साउन । रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् । आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्ने क्रममा खतिवडाले समतिकिो सभापतिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफू राजनीतिक निष्ठासहित सक्रिय रहेको बताउँदै भने,‘राजनीतिमा निष्ठाको कमि रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । संघीय निजामति विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट व्यहोर्नुपर्यो, यो विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईँहरुले पनि देख्नुभयो । तिनीहरुको दबाब मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्यो । समितिकै सदस्यहरु संसदमा हुनुहुन्छ । उहाँहरुले पनि कुनै न कुनै झमेला खेप्नुभएकै छ ।’
उनले आफूले हाँसीहाँसी राजीनामा दिने घोषणा गरेको बताए । यो क्रममा उनले समितिको सभापतिको रुपमा काम गर्दा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवादसमेत ज्ञापन गरे । संघीय निजामती विद्येयकमा राखिएको कुलिङ पिरियडबारे भएको छेडखानीमा छानबिन समिति गठन भएको थियो ।
सो समितिको प्रतिवेदन आएपछि खतिवडाले आज समितिको सभापतिबाट राजीनामा दिएका हुन् । उनले समितिको प्रतिवेदनले आफूलाई राजीनामा दिन निर्देशन नगरेको र कुनै दोषी किटान नगरेको पनि स्मरण गराए ।




प्रतिक्रिया