दोरम्बा हत्याकाण्डको २२ वर्षः पीडित परिवार अझै न्यायको पर्खाइमा


काठमाडौं, ३१ साउन । नेपालमा जनयुद्द उत्कर्षमा रहेको थियो । समाजमा लामो समयदेखि जारी अन्याय, अत्याचार र विभेदका विरुद्घमा नेपाल आमाको वीर सन्तानहरुले आफ्नो ज्यानको बलिदानी दिइरहेका थिए । आफू मरेर पनि बाँचेकाहरुका लागि समाज परिवर्तन गरी न्याय, समानता र स्वतन्त्रताको पक्षमा बलिदान दिन वीर योद्धाहरु लागि परेका थिए ।

नेपाल आमाका वीर सपूतहरु तत्कालीन शासन व्यवस्था र समाजका विरुद्घ ज्यानको बाजी लगाएर लड्दै थिए भने तत्कालीन सरकार दमनको नीति लिएर आफ्ना नागरिकहरु मारिरहेको थियो । यसैक्रममा २०६० साल साउन ३२ गते माओवादी नेता डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीबीच दाङको हापुरेमा वार्ता चलिरहेको थियो ।

देशमा युद्धविराम घोषणा भएको थियो । सोही दिन रामेछापको दोरम्बाबाट तत्कालीन शाही सेनाले माओवादीका चर्चित नेता बाबुराम लामा ‘पुष्प’ सहित २१ जना योद्धालाई दोरम्बाको डाँडाँकटेरीमा लगेर निःशस्त्र अवस्थामा बर्बतापूर्वक हत्या ग¥यो । सोही कालो दिनको सम्झनामा हरेक वर्षको दोरम्बा हत्याकाण्ड दिवसका रुपमा मनाइन्छ ।

दोरम्बा हत्याकाण्डका २१ सहिदहरु

१.बाबुराम लामा ‘पुष्प’
२. अम्बिका दाहाल ’ललिका’
३. प्रदीप दोङ ‘रक्तिम’
४. उमा कार्की ‘सहारा’
५.पदमराज गिरी ‘असल’
६.युवराज मोक्तान
७. लिला मोक्तान
८.चतुर्मान थामी ‘समर’
९. सोममाई थामी ‘संगिता’
१०.टेकबहादुर थापामगर ‘विवेक’
११.विष्णु थापामगर ‘विमा’
१२. श्याम तमाङ ‘इनक्लाव’
१३. हर्क थिङ ‘यथार्थ’
१४. यादव चौहान ‘समिर’
१५. चमेली थामी ‘उषा किरण’
१६.हर्कलक्ष्मी राई ‘विमला’
१७. लक्ष्मण तमाङ ‘छाया’
१८. जगत विश्वकर्मा ‘जमिन’
१९. रामबहादुर तमाङ ‘छोप्पा’
२०. रामबहादुर लामा ‘तारा’
२१. भबु लामा ‘सोम’

दोरम्बा हत्याकाण्ड विश्वको इतिहासमा एउटा पृथक घटनाको रुपमा सम्झिन्छन् सहिद पदमराजका छोरा कपिलराज गिरी । नेपालको इतिहासमा यसले शान्ति स्थापना गर्नमा अहम भुमिका खेलेको उनको बुझाइ छ । जनयुद्घमा जे जति घटना घटे, अरु घटनाभन्दा यसको उचाई फरक रहेको उनले बताए । यसलाई अन्तराष्ट्रियकरण गरी फरक तरिकाले स्थापित गर्न राज्य र पार्टीले नसकेको उनको भनाइ छ । जेनेभा महासन्धी धारा ३ ले दोषी ठह¥याएको तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेललगायतलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनले बताए । दोषीलाई कारबाही नभएसम्म दोरम्बा हत्याकाण्डका सहिद परिवारले राहत महशुस नगर्ने उनले बताए ।

को हुन तत्कालीन शाही सेनाका मेजर पोखरेल ?

दोरम्बा हत्याकाण्डमा संगल्न सेनाका कमाण्डर हुन् तत्कालीन शाही सेनाका मेजर राममणि पोखरेल । उनलाई जेनेभा महासन्धी धारा ३ ले दोषी ठह¥याएको छ । उनी हाल अमेरिकामा मोजमस्तिपूर्ण जिन्दगी बिताइरहेका छन् । मानव अधिकारवादी संघ संस्थाहरुले दोषी करार गरी कारबाहीको माग गरिरहेको भए पनि सत्ता र शक्तिको आडमा उनले संरक्षण पाइरहेको सहिद परिवारको गुनासो छ ।

रामेछापको दोरम्बास्थित शिक्षक युवराज मोक्तानको घरमा रहेका माओवादीलाई घेराहाली नियन्त्रणमा लिएर हात बाँधि आँखामा पट्टी कसेर २ जनालाई युवराज मोक्तानको घरमै र बाँकी १९ जनालाई दोरम्बा बजार हुँदै डाँडाकटेरी भन्ने स्थानमा पु¥याएर हत्या गरिएको थियो ।

यस घटना दुवै पक्षले युद्घविराम घोषणा गरेको बेला युद्घको नियम विपरित गरिएको हत्या भएकाले पनि तत्कालीन मेजर पोखरेल दोषि हुन भन्ने कुरा राज्य, कानुन, अदालत र अन्तराष्ट्रिय निकाय सबैलाई थाहा छ । तर सरकार र पार्टी नेतृत्वको उदासीनताका कारण तत्कालीन शाही सेनाका मेजर पोखरेलले संरक्षण पाइरहेका छन् ।

दोरम्बा हत्याकाण्ड १० वर्षे माओवादी जनयुद्घको एउटा जटिल र पृथक घटना हो । युद्घविरामको बेला सेनालाई ब्यारेक वरपरको ५ किलो मिटर बाहिर जान निषेध गरिएको थियो । त्यसैगरी माओवादीलाई पनि सेनाको ब्यारेकको ५ किलो मिटर वरपर आउन निषेध नै थियो ।

यस्तो अवस्थामा सेनाले नियम विरित ब्यारेक बाहिर निस्किएर माओवादीको हत्या गर्नुलाई सही थियो भन्न सकिदैन । यसो त माओवादी जनयुद्घमा १७ हजार नेपाल आमाका सन्तानहरुले बलिदानी दिए । उनीहरुको योगदान पनि कम छैन । तर मेजर पोखरेलले जे गरे त्यो युद्घ अपराध हो ।

यदि मेजर पोखरेलले उक्त काण्ड नगरेको भए माओवादी युद्घ ३ वर्ष पहिला समाधान हुन्थ्यो भन्ने आकलन राजनीतिक वृत्तको रहेको छ । १० वर्षे जनयुद्घमा सहिद भएकाहरुको संख्यालाई औषत रुपमा हेर्ने हो भने पनि यो संख्या वार्षिक १ हजार ७ सय हो । त्यसलाई समेत हिसाब गर्ने हो भने मेजर पोखरेल थप ५ हजार १ सय जनाका हत्यारा हुन भन्दा फरक पर्दैन ।