काठमाडौं । रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल धनुषा जिल्लाको बरमशझिया गाउँमा वि.सं. २००३ सालमा भएको हो। यो अहिले प्रदेश नम्बर २ धनुषा जिल्ला चारनाथ नगरपालिकामा पर्छ। उनको जन्म मधेश प्रदेशको धनुषा जिल्ला चारनाथ नगरपालिकामा भएको हो। उनको आमा सम्पैत देवी र बुवा रामलखन यादव किसान थिए। रामवृक्ष यादवले २०२२ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे ।
वीरगञ्ज ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर आफ्नै गाउँमा रहेको प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक भई जागिर खाए । २०२२ सालमा नै रामकुमारी यादवसँग उनको विवाह भयो । घर परिवार विद्यालय हुँदै राजनीतिमा प्रवेश गरेका उनी वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगे ।
वि.सं. २०३० सालमा मजदुर आन्दोलनमा सक्रिय भूमिका खेल्दै सिराहा, धनुषा, सर्लाही ,महोत्तरी लगायत तराईका विभिन्न जिल्लामा सक्रियताका साथ राजनीति गरे । उनको यस्तो सक्रिय भूमिकाले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै तत्कालीन राज्यले उनलाई जेल सजाय गर्यो ।
रामवृक्ष यादवका कारण बरमझिया गाउँमा सम्पूर्ण नागरिक तत्कालीन प्रशासनबाट पीडित थिए। २०३० कार्तिकमा जेलमुक्त भएपछि नेकपा (चौम) ले उनको कामबाट प्रभावित भएर २०३१ सालमा पार्टीको सक्रिय सदस्यता दियो । तत्कालीन सरकारले कम्युनिष्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि उनलाई जागिरबाट निष्कासन गर्यो ।
वि.सं. २०३५ माघमा बरमझियामा सामन्त र मजदुरबीच आन्दोलन हुँदा उनी पुनः पक्राउ परे पनि जनताले पुलिसबाट जबरजस्ती फुत्काएका थिए । २०३५ साल कार्तिकमा सिन्धुलीको रघुनाथ कोइराला हत्याकाण्डमा तत्कालीन सरकारको मिलोमतोमा जबरजस्ती फसाइएको थियो। राजनीतिक पृष्ठभूमिका आधारमा राजकाज अपराधअन्तर्गत २०३५ पुस १ देखि २०३७ वैशाख ५ गतेसम्म जेल हालियो। पछि राजबन्दी रिहाइमा छुटे ।
बहुदलको हार र निर्दलको जितपछि उनको घर तोडफोड भयो। उनको लाखौं सम्पत्ति लुटियो। त्यस लुटपाटमा सोभियत यादव, दयाराम यादव सन्तोषी यादव ,बिसुनदेव यादव,दामोदर यादव लगायतको सम्पत्ति लुटिएको थियो। त्यसपछि रामवृक्ष यादव भूमिगत हुन बाध्य हुनुपरेको थियो।
२०३९÷४० सालतिर जुडीको ज्यान मार्ने मुद्दामा षड्यन्त्रपूर्ण ढंगले तत्कालीन प्रशासनले उनलाई फसाइएको थियो। ४० सालमा विष खाएर गाउँमा एक व्यक्ति मर्दा त्यसमा पनि तत्कालीन प्रशासनले उनलाई नै फसाइएको थियो । प्रशासनले उनको खुट्टासमेत भाचिदिएको थियो । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । त्यहीबाट उपचाररत अवस्थामा उनी जनता र पार्टीको सहयोगमा उम्किन सफल भएका थिए ।
२०४१ सालमा भएको पाँचौं महाधिवेशनपछि पार्टी विभाजन हुँदा उहाँ नेकपा (मसाल) को केन्द्रीय सदस्यको जिम्मेवारी पाए । षड्यन्त्रपूर्ण ढंगले २०४५ साल जेठदेखि २०४८ सालसम्म कर्तव्य ज्यान मुद्दाअन्तर्गत जेलमा परेका थिए। उनलाई विक्रम सम्वत २०५१ साल भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किँदै थिए। सोही क्रममा २०५१ साल भाद्र २ गते तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा षड्यन्त्रपूर्वक हत्या गर्यो।
रामवृक्ष यादव र रामकुमारी यादवको कोखबाट २०३५ सालमा बरमझिया गाउँमा जन्मिएको शेखर यादवले २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी विद्यार्थी जीवनदेखि नै पिताजस्तै तिक्ष्ण बुद्धिका थिए । उनी पार्टी र क्रान्तिप्रति आफ्ना आमाबुवाजस्तै जिल्ला पार्टीमा देखा परेको पलायनको विरुद्ध कठोर संघर्ष चलाए। पार्टी र क्रान्ति छाडेर भाग्नेहरू विरुद्ध दृढतापूर्वक अभियान नै चलाएको थियो । उनले पिताको आदर्श विचारलाई शिरोधार्य गरी अघि बढेका थिए।
उनी न्यायपूर्ण आन्दोलनमा क्रियाशील रहेका बखत २०५८ साल पुस १४ गते भारतको दरभंगाबाट उपचार गराएर जिल्ला फर्किने क्रममा पक्राउ परेका थिए। भारतको जयनगरबाट दिनको ११ बजे भारतीय र नेपाली प्रहरी टोलीद्वारा पक्राउ गरी जयनगरकै थानामा राति १२ बजेसम्म राखिएको थियो। त्यसपछि नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको इनर्वामा भारतीय पक्षले नेपाली पक्षको प्रहरीलाई सुपुर्दगी गरेको थियो । सुपुर्दगी गरिएका शेखर यादवलाई धनुषाको खजुरी थानामा दुई घण्टासम्म राख्यो। शेखर यादवलाई थुनुवाबाट निकालेर तत्कालीन नेपाली सेनाले रातिको २ः०० बजेतिर निर्ममतापूर्वक हत्या गरेको थियो।
रामकुमारी यादवले रामवृक्ष यादवलाई जीवनभर साथ र सहयोग दिईन् । उनी पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरिरहने क्रममा पटक–पटक गिरफ्तारीमा परिन् । हिरासतमा रहँदा उनले आफ्ना ४ ओटी छोरीहरू बोधमाया, कल्याणी ,सुधा, सुनिता र छोरा शेखर यादव तथा सासु सम्पैत देवीलगायतलाई हेरचाह गर्नेदेखि लिएर स्थानीय स्तरका पार्टीको काममा लागेकी थिइन्। साथै जेलमा रहेका रामवृक्ष यादवलाई निरन्तर हौसला र प्रेरणा प्रदान गरिरहिन् ।
रामवृक्ष यादवलाई डकैत, ज्यान मार्ने र राजकाज अपराध मुद्दा लाग्दा पनि त्यसको प्रभाव नै नगरी रामकुमारी यादवले आफ्नो पति रामवृक्ष यादवको आदर्श र निष्ठालाई कहिले पनि झुक्न दिईनन् । घरमा अभाव, विपन्नता र समस्याहरु आउँदासमेत विचलित नभई असल आमाका रूपमा आफ्ना लालाबालाका हेरचाह गरिन् । आफ्ना सन्तानलाई गरिबी र अभावसँग निरन्तर जुध्न सिकाइरहिन् ।
विक्रम सम्वत २०५१ साल भाद्र २ गते पति रामवृक्ष यादवको हत्या हुँदा उनी मुर्छित भईन् । तर, आफ्नो दुःख पीडालाई शक्तिमा रूपान्तरण गरिन्। वि.सं.२०५८ पुष १४ गते एकमात्र छोरा शेखर यादवको हत्या भयो। निरन्तर हत्या र वेदनासँग जुद्दा जुध्दै उनले संघर्षलाई निरन्तरता दिइरहँदा रामकुमारीका देवरहरु रामसागर, हरि र राम जुलुमको पनि तत्कालीन शाही सेनाले हत्या गर्यो।
जनयुद्धमा समेत कटिबद्ध भएर लागेका रामवृक्ष यादवको परिवारले क्षति बेहोरेको थियो। जनयुद्धमा होमिदा विभिन्न अवरोध, आरोह र संघर्षहरूलाई अहिले उनका छोरीहरुले पछाइरहेका छन् ।
उनी त्याग, तपस्या, सरलता र सादगीको नमुना थिईन् । उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय सदस्य ,संयुक्त जनमोर्चा नेपाल केन्द्रीय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय संयोजक, संयुक्त राष्ट्रिय जन आन्दोलन संयोजन समितिका केन्द्रीय उपाध्यक्ष र एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेवारी सम्हालेकी थिइन्। उनी अन्तरिम संविधानसभा सदस्य र २०६४ को पहिलो संविधानसभाको चुनाव लडी धनुषा क्षेत्र नम्बर ६ बाट संविधानसभाको सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएकी थिईन् ।
वि.सं.२०६७ साल साउन २८ गते बिहान ३ बजे सिलिन्डरको ग्यास लिक भएपछि आगोले पोलेर घाइते भईन् । उनलाई उपचारका लागि भारतको सफ्दरगञ्ज अस्पताल लगियो। २०६७ साल साउन २९ गते उनको सफ्दरगंज अस्पतालमा नै निधन भयो। तत्कालीन एकीकृत नेकपा माओवादीले रामकुमारी यादवलाई मरनोपरान्त सम्मान स्वरूप ‘मधेशकी माता’ सम्मानले विभूषित गरेको थियो ।
जनयुद्धको आरम्भकालमा आन्तरिक तयारीमा रहेका मास्टर साहेब रामवृक्ष यादवलाई तत्कालीन नेपाली कांग्रेसको सरकारले हत्या गर्यो। तर, पनि उनीहरू चुप लागेर बसेनन्। रामवृक्षका पूरा परिवारलाई वर्गीय सङ्घर्षको चपेटामा पारे। तत्कालीन सरकार र शाही सेनाले रामवृक्षका भाइ ,सन्तान र ज्वाईसमेतको हत्या गरिदिए। यसरी एउटा सिङ्गो परिवार जनयुद्धमै समाहित भयो।
अहिले पनि रामवृक्ष र रामकुमारीका छोरीहरू र छोरी–ज्वाइहरूलगायतका नेकपा (माओवादी केन्द्र) मै सक्रियपूर्वक लागेका छन्। सानैदेखि देखेको र सिकेको कम्युनिष्ट राजनीतिबाट प्रेरित भएर पनि होला आमाबुवाको सपना साकार पार्न निरन्तर पदचाप पछाइरहेकी छु। ३१औँ रामवृक्ष स्मृति दिवसमा महान शहिद रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण छ।




प्रतिक्रिया