काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले १९ वर्षपछि नियोजित तवरले गौर हत्या काण्डको विषय व्यूँताइएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अदालतले सरोकारवालासँग सरोकार नै नराखेर, उनीहरुलाई मौका नै नदिएर एकात्मक ढंगले गौर हत्या काण्डको छानविनका लागि परमादेश जारी भएको बताएका हुन् । उक्त परमादेशमा सरकारको तर्फबाट षड्यन्त्रको गन्ध आएको उनको आरोप छ ।
‘ती २७ जना मृतकलाई न्याय दिइनुपर्छ । उनीहरुको आत्माको शान्तिको लागि पनि यो समस्याको सर्वकालीन हल गर्नुपर्छ । उपेन्द्र यादवलाई थर्काउन, कमजोर बनाउन, देशमा व्याप्त आन्दोलनहरुलाई कमजोर गर्न पुरानो घाउ कोट्याएर यसरी नै हलचल मच्चाइन्छ,’ उनले भने, ‘१९ वर्ष पश्चात नियोजित तवरले अदालतले सरोकारवालासँग सरोकार नै नराखेर, मौका नै नदिएर एकात्मक ढङ्गले जारी गरिएको यो परमादेशमा षड्यन्त्रको गन्ध आउँछ । यो षड्यन्त्रको गन्ध सिधा–सिधा सरकारको तर्फबाट आउँछ ।’
आफूहरुले भूमिसम्बन्धि विधेयक नमानेको कारण यो मुद्दा व्यूँताइएको उनको दाबी छ । उनले गौर हत्या काण्डको आफूहरुले पनि निरुपण खोजेको उनले बताए । उक्त घटनाका लागि सर्वपक्षीय, उच्चस्तरीय संसदीय समिति आफूहरुको माग रहेको उनले बताए । सो घटना छानविनका लागि बनेका विभिन्न समितिहरुले १३० जनामाथि छानविन हुनुपर्ने प्रतिवेदन तयार पारेका थिए ।
‘भूमिसम्बन्धी विधेयकलाई जनता समाजवादी पार्टी, नेपालले किमार्थ मानेन । अस्ति ल्याइयो, त्यो अध्यादेशलाई पनि हामीले निस्तेज गर्दियौं । अहिले विधेयक चर्चामा छ । विधेयक पनि हामी मान्दैनौं भनिसकेका छौं । मधेशलाई सुख्खाग्रस्त बनाउन, चुरेको दोहन गर्न, भू–माफियालाई फाइदा पुर्याउनको लागि यस्तो गरिराखेको अवस्थामा हामी मान्दैनौं । सरकारसँग समर्थन फिर्ता लियौं । यो सबै आलोकमा १९ वर्ष पुरानो घाउलाई कोट्याइएको छ । यो कोट्याइयोस् । यसको हामीले निरुपण नै खोजेका छौं । जसपा नेपालले प्रष्ट रुपमा भनेको छ– यो घटनाका लागि हामी सर्वपक्षीय, उच्चस्तरीय संसदीय समितिको माग गर्छौं,’– उनले भने ।




प्रतिक्रिया