शेखर पक्षका सांसदले गरेनन् खाली पानामा हस्ताक्षर


काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस संस्थापन इत्तर समूहका सांसदहरुले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कांग्रेस–एमालेले आ–आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरेका थिए । तर, कांग्रेस नेता डा.शेखर कोइराला समूहले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ ।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूहरुले हस्ताक्षर नगरेको बताए । ‘हस्ताक्षरबारे हामीलाई केही पनि थाहा छैन, हामीले हस्ताक्षर गरेका पनि छैनौं,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने ।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्ना सांसदहरुलाई हस्ताक्षरका लागि बोलाएका थिए । सो कुरा शेखरलाई उनीनिकट सांसदहरुले जानकारी गराएका थिए । सो क्रममा शेखरले प्रयोजन नखुलेको कागजमा हस्ताक्षर नगर्न निर्देशन दिएको बताइएको छ । कोइरालासँग सांसदहरु हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरी, कान्छाराम तामाङलगायतले छलफल गरेको बताइएको छ ।