काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनले नेपाली भूमिको बारेमा नेपालको अनुस्थितिमा गरेको सम्झौताप्रति गम्भीर असहमति प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भारत र चीनबीच भएको पछिल्लो सहमति आपत्तिजनक र अस्विकार्य रहेको बताएका हुन् ।
उनले भने,‘हाम्रा दुई छिमेकीहरु भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीले पढ्यौं, सुन्यौं र जान्यौं । नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीहरुले गरेको व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक छ । अस्विकार्य छ । नेपाल सरकारले यसका सम्बन्धमा जुन पहल गरेको छ, सबैलाई समेटेर अगाडि बढाओस । हामी यसका निम्ति आग्रह गर्न पनि चाहन्छौं ।’ यस विषयमा आफ्ना पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको ६ बुँदे सुझावलाई पनि ग्रहण गर्न थापाले सरकारको ध्यानाकार्षण गराए ।
उनले यो विषयलाई घरेलु राजनीति र उग्र राष्ट्रवादी हुनेतर्फ पनि लाग्न नहुने मत राखेका छन् । भारत र चीन दुवै छिमेकीलाई नेपालले एक ढिक्का भएर अब नेपाली भूमिमाथि आँखा लगाउने कुरा स्विकार्य छैन भनेर जवाफ दिनुपर्ने थापाको भनाई छ । नेपालले प्रतिवाद गर्नुपर्ने र त्यसको लागि पोजिसन बनाउनुपर्ने पनि उनले बताए ।




प्रतिक्रिया