माओवादीले पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्छः एमाले महासचिव पोखरेल


काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा रहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने बताए ।

‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो,’ उनले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।’

माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाई छ । माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए ।

‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्‍यो,’ उनले भने, ‘माओवादीलाई एमाले र काँग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ ।’

महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताए ।