काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले गिरीबन्धु टी स्टेटप्रति प्रधानमन्त्री केपी शर्मा ओली निकै चिन्तित र लालयित रहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले भूमि विधेयक पास गराउनकै लागि गौर हत्याकाण्डको कुरा निकालेर जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग ब्ल्याकमेलिङ गरिएको बताएकी हुन् ।
‘गिरीबन्धु टी स्टेटको लागि उहाँ किन चिन्तित, किन लालायित ? उहाँले के गर्नुभयो होला त ? अहिले भूमि विधेयकलाई पास गराउनका लागि किन गौर हत्याकाण्डका कुराहरु निकालियो ? किन उपेन्द्र यादवलाई ब्ल्याकमेलिङ गरियो ?’ प्रश्न गर्दै उनले भनिन् ।
भूमि विधेयक फास्ट ट्रयाकबाट पारित गराउन खोज्नुमा गिरीबन्धु टी स्टेटमा प्रधानमन्त्री ओलीको स्वार्थ रहेको उनको दाबी छ । कांग्रेस–एमालेको सरकार बनेपछि विभिन्न काण्डहरु गुपचुप पारिएको पनि उनले बताईन् । गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणलगायतका काण्ड अहिले गुपचुप बनाइएको उनको भनाइ छ ।
‘गिरीबन्धु टी स्टेट खाइदिनुभयो । त्यसपछि उहाँका आसेपासेसँग मुछिएका धेरै चिजहरु छन् । भुटानी शरणार्थी गुपचुप भयो । करोडौं रुपैयाँको लेनदेन हुँदाहुँदै, थाहा पाउँदा पाउँदै त्यो पनि गुपचुप भयो । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गुपचुप भयो । त्यस्ता प्रकारले धेरै ठाउँ छ । जनताले केपीजीलाई जहाँ गयो, फलानो चोर देश छोड भनेर स्वागत गर्छन्,’– उनले भनिन् ।
नेतृ कार्कीले भिजिट भिसा गलत नरहेको बताईन् । तर, त्यसको आवरणमा त्यहाँ मानव तस्करीहरु भइरहेको उनको दाबी छ । आफूहरुले त्यसलाई हामीहरुले उच्चस्तरीय छानविन समिति गठन गर भन्दाखेरी सहसचिवको अध्यक्षतामा समिति गठन गरेर लट्पट्याउन खोजिएको उनले बताईन् । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, मेनपावर लगायतका निकायहरुको संलग्नता रहेको उनको भनाइ छ ।
साथै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालविरुद्ध प्रधानमन्त्री ओलीले आफ्ना प्रतिद्वन्द्वीलाई सिध्याउने मनशाय राखेर मुद्दा दर्ता गराउन लगाएको उनको आरोप छ ।




प्रतिक्रिया