नागरिक समाजका अगुवा डा.दीक्षितको प्रस्तावः लिपुलेक, लिम्पियाधुरा भारतलाई लिजमा दिऊँ (भिडिओसहित)


काठमाडौं, १० भदौ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगातको भू–भाग भारतलाई लिजमा लिन प्रस्ताव गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लिजको सम्झौता गर्नेबित्तिकै भारतले त्यो भूमि नेपालको हो भन्ने कुरा स्वीकार गरेको पुष्टि हुने बताएका हुन् । उनले त्यो भूमि नेपालकै रहेको बताउँदै हामीलाई आफ्नो सम्मान बचाउन र भारतलाई आफ्नो सुरक्षा बचाउनका लागि उक्त भूमि लिजमा दिन सकिने बताए ।

‘चीनलाई भनौं– हेर यो हाम्रो जग्गा हो । त्यसैले यसो नगर न, तिमी हामी भनेको त मित्र हो भनेर उसलाई फकाऔं । भारतसँग भनौ– तिम्रो सुरक्षामा हामी दख्खल दिँदैनौं । तिमीले हामीसँग लिजमा लिइदेउ भनेर हामीले कन्भिन्स गर्नुपर्यो । झगडा गर्न खोजेपछि त अस्ति भारतले वक्तव्य दिइहाल्यो । नेपालले भनेको गलत छ, यो जग्गा सबै हाम्रै हो भनिसक्यो । हाम्रो यतिको वर्षको डिप्लोमेसी कहाँ गयो ? केही पहल नै भएको छैन हाम्रोतर्फबाट,’– उनले भने ।

उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई कार्यकाल भारतविरोधी भएर नै प्रतिनिधिसभाको चुनाव जितेर आएको उनको भनाइ छ । उनले ओलीको उक्त कदमलाई नेगेटिभ राष्ट्रवादको संज्ञा दिए । भारतको विरोध गर्दागर्दै पछि चुच्चे नक्सा ल्याएर ओली झन महान बन्न खोजेको उनले बताए । नागरिक समाजका अगुवा डा.दीक्षितले भारतविरोधी प्रधानमन्त्री हुँदाहुँदै पनि कांग्रेसले एक शब्द केही बोल्न नसकेको बताए । ओलीले भारतलाई चिँढ्याएर सम्बन्ध बिगार्दै गएको उनको भनाइ छ ।

‘नेपालभित्र हामी भारत विरोधी हौं । हामी राष्ट्रवादी भनेर मोदीसँग ओलीले आँखा जुधाएर कुरा गर्न सक्छन् भनेर चुनाव जित्ने, प्रधानमन्त्री बन्ने । जब भारतसँग कुरा गर्नुपर्छ गएर तब चाहिँ चु्इँक्क पनि नबोल्ने । यो हो कुरा,’– उनले भने ।

लिपुलेक, कालापानी, लिम्पियाधुरामा रहेको समस्या समाधानका लागि भारतले कोभिडपछि आउँछौं भनेर वचन दिएको भए पनि नेपाल पक्षले चासो नदेखाएको उनको दाबी छ । उनले परराष्ट्र मन्त्रालयको नीति र बुद्धि दुवै नरहेको टिप्पणी गरे । उनले भारतको विरोध गरेर समस्याको समाधान नहुने बताए ।