राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेको उम्मेदवारी


काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् । आज (मंगलबार) उनले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरि खतिवडाले निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीपश्चात पदबाट राजीनामा दिएका थिए ।

समिति सभापतिको निर्वाचन भोलि (बुधबार) दिउँसो ३ बजे समिति बैठकमै हुने कार्यतालिका रहेको छ ।