काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनार्दन शर्माले आफूलाई नपत्याउँदैमा केही फरक नपर्ने अभिव्यक्ति दिएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले जनार्दन शर्माबारे कडा टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन। यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ । तपाईँहरु यसलाई चर्काउने ढंगले प्रश्न गर्न जरुरी पनि छैन। हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्योबारे पनि हामी फेरि छलफल गर्नेछौं।’
पछिल्लो समय प्रचण्डले पार्टीभित्र स्वार्थ समूह हाबी भएको भन्दै अब कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । आज विराटनगरमा पत्रकारहरुले माओवादीभित्र स्वार्थ समूह भनेर कसलाई भन्नुभएको हो भनेर सोधिएको थियो ।
जवाफमा दाहालले भने,‘अब स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नु पार्टीकाविरुद्ध गतिविधि गर्नेलाई भनिएको हो।’
माओवादी केन्द्रको पदाधिकारी बैठक अर्को साता बस्ने भएको छ । सो बैठकमा जनार्दनलाई कारबाही गर्ने विषयमा प्रचण्डमाथि दबाब बढेको छ। जनार्दन भने यतिवेला रुपन्देहीमा छन् । उनी विप्लव र घनश्याम भुसालसँग सहकार्यकेन्द्रित बहस, छलफल तथा अन्तरक्रियामा सक्रिय भएका छन् ।




प्रतिक्रिया