काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन् । विराटनगरमा सम्पन्न कोशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । ‘म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्यो । तल जनतालाई पनि बुझाउनुपर्यो,’– उनले भने ।
आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो । हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ,’– उनले भने ।
प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताए । उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला–ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए । ‘समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मार्क्सवादले भनेको आलोचना र आत्मसमीक्षा यही हो ।’
अध्यक्ष प्रचण्डले कोशी प्रदेशलाई ‘अग्रगामी चेतनाको स्रोत’ भन्दै यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टी विकासका लागि सकारात्मक संकेतको रूपमा व्याख्या गरे । पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमिक्षासहित पार्टीमा फर्किएकाले आएका नेताकार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उनले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिए ।




प्रतिक्रिया