खानेपानीको पाइप र ढलको पानी मिसाइएको कारण हैजाको प्रकोप बढेको हो : उपेन्द्र यादव (भिडिओ सहित)


काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालको संविधान २०७२ घोषणा गरेको एक दशक भैसकेको र पटक पटक संविधान संशोधन गर्ने प्रतिबद्धता आएपनि व्यवहारमा लागु नगरिएकोमा असन्तुष्टि पोखेका छन् । उनले संविधान संशोधनको कुरा अब भाषणमात्रै नभएर व्यवहारमा लागु गर्न सुझाव दिए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालको संविधान घोषणा भएको एक दशक भैसकेको छ । घोषणाका बेलामा देशको ठूलो जनसंख्या कालो दिवस मनाइरहेको थियो । तिनलाई गोली ठोक्दै संविधान घोषणा गरिरहेका थिए । र, केहीले बत्ति पनि बालेका थिए । कहीँ कहीँ फाटफुट्ट रुपमा । अब यो संविधान देशको ठूलो जनसंख्याको पनि हुने हो ? कि फाट्टफुट्ट मात्रैको हुने हो ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै रहेको छ । त्यहीपनि एक दशक बित्दापनि संविधान कार्यान्वयन, मौलिक हकको कार्यान्वयनको लागि धेरै कानूनहरु बन्नुपर्ने थियो, त्यो बन्न सकेको छैन ।’

यादवले मौलिक हक कार्यान्वयनको लागि अहिलेपनि करिब २७ वटा कानून बन्न बाँकी रहेको सुनाए । उनले मौलिक हकको कार्यान्वयनको लागि कानून नबन्दा जनताले यो हकको उपभोग गर्न नपाएको गुनासो पोखे । संघीयता कार्यान्वयनको लागि अनेक कानून बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले कवाड व्यवसायीहरुको आन्दोलनको कुरा उठाउँदै उनीहरुको माग पूरा गराउन सरकारको ध्यानाकार्षण गराए । उनले तराई÷मधेशमा हैजाको प्रकोप गल्तीको कारण बढेको आरोप लगाए । उनले भने,‘तराई–मधेशमा हैजाको प्रकोप गल्तीले बढेको छ । खानेपानीको पाईप र ढलसँगको पानी मिलाईएको छ, त्यो गल्तीबाट हैजा फैलिएको भन्ने डक्टरको भनाई छ । अहिले उपचार पाएका छैनन् । समस्या भएको छ उपचारमा भनिएको छ ।’