विरोधका आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो बन्दैनः हरि ढकाल


काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य हरि ढकालले विरोधक आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले दलीयकरणले लोकतन्त्र छायामा परेको बताएका हुन् । ‘विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्दैन । राणकालमा राणहरुले विरोधीलाई झुण्ड्याइदिन्थे, गोली हान्थे, मार्दिन्थे । बच्यो राणा शासन ? बचेन नि । यही शैलीले लोकतन्त्र मजबुद हुँदैन । आज दलीयतन्त्रको कारणले लोकतन्त्रमाथि छाँया परेको छ । त्यो छाँयाले लोकतन्त्र सेपिलो बनेको छ । लोकतन्त्र सेपमा परेको छ,’–उनले भने ।

नेता ढकालले संसद्मा आफूहरुको विरोधलाई नसुनेर उल्टै कर्कश, अराजक, असहिष्णु शैलीसँग मिथ्या आरोप लगाइएको बताए । उनले सिर्जनात्मक बहस गर्ने रास्वपाका नेता नेताहरुमाथि सदनभित्र नसकेर डिफेक भ्वाइस रेकर्डहरुसमेत छरपस्ट पारिएको बताए । ठूला भनिएका दलहरुको यो शैलीको ०८४ मा जनताले हिसाबकिताब गर्ने पनि उनले चेतावनी दिए । उनले भने, ‘२०८४ मा आम नागरिकले यो शैलीको हिसाबकिताब राखेका छन् । ०८४ मा आम नागरिकहरुले राखेको हिसाब निकाल्ने छन् । लोकतन्त्र जुरुक्क उठ्नेछ,’– उनले भने ।

अहिले दलीयकरणमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सेपिलो पारेर राखिएको पनि उनले बताए । ०८४ पछाडि त्यो अख्यितार पनि जुरुक्क उठ्ने र काम गर्न थाल्ने उनको भनाइ छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु ०८४ पछाडि जुरुक्क उठेर काम गर्न थाल्ने उनले बताए । ०८४ मा आम नागरिक बोल्ने, देश बोल्ने र प्रवासी नेपालीहरु बोल्दैगर्दा पुराना भनिएका दलहरु बोल्ने ठाउँ नहुने उनको चेतावनी छ ।