काठमाडौं, १८ भदौ । सुन र नगदसहित काठमाडौंको गोङ्गबुबाट पक्राउ परेका विनोद श्रेष्ठको छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेको छ । राजकुमारको कार्यालयमा छापा मारेर प्रहरीले केही नगद र सुन बरामद गरेको बताइएको छ ।
विनोदको घरबाट हिजो (मंगलबार) प्रहरीले छापा मारेर ४ करोड २५ लाख ५० हजार नगद, ९ केजी ८३७ ग्राम सुनका गहना र ३ केजी २१८ ग्राम चाँदी बरामद गरेको थियो ।
श्रेष्ठको घरबाट प्रहरीले चामलको बोरामा लुकाइराखेको अवस्थामा सो पैसा र सुनचाँदी फेला पारेको थियो । उनले धरौटीमा सुन लिएर मिटरव्याजमा पैसा दिँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।
गोरखा नगरपालिका–६ घर भएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
विनोदका छोरा राजकुमारले सनम खड्गीको घरमा कोठा भाडा लिएर कार्यालय सञ्चालन गरेका थिए । त्यहाँ छापा मार्दा प्रहरीले ९० हजार ५ सय नगद, ५ थान सुनको छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औठी र १ थान सुनको लकेट बरामद गरिएको हो ।




प्रतिक्रिया