देउवा प्रधानमन्त्री बन्ने कि प्रतिपक्षी दलको नेता भन्नेमा समानान्तर सम्भावना छः राजनीतिक विश्लेषक सुवेदी


काठमाडौं, २१ भदौ । राजनीतिक विश्लेषक अरुण सुवेदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रतिपक्षी दलको नेता बन्ने सम्भावना रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मिलेर सरकार बनाउने सम्भावनाको संकेत गरेका हुन् । अहिलेको चञ्चल अंक गणितमा देउवा प्रधानमन्त्री हुने र प्रतिपक्षी दलको नेता हुनेमा समानान्तर सम्भावना रहेको उनको भनाइ छ ।

‘शेरबहादुर देउवाको बीचमा पनि हुनसक्छ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो, देउवाले नै भोलि संसदीय दलको नेतृत्वमा कसैलाई प्रस्ताव पनि गर्न सक्नुहुन्छ । यो चञ्चल गणितले केही कुरालाई पनि निषेध गरेको छैन । त्यो कुरा चाहिँ मनन गरौं । भोलि प्रतिपक्षी दलको नेता पनि हुनसक्नुहुन्छ शेरबहादुरजी । त्यो पनि सम्भावना छ । त्यो पनि समानान्तर सम्भावना भएको विषय हो,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले अहिले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर कन्फ्युजन क्रियट भएको उनले बताए । भारतीय सञ्चारमाध्यम द प्रिण्टले लेखेको समाचारलाई लिएर शंसय पैदा भएको बताएका हुन् । यद्यपि प्रधानमन्त्री ओलीले भारत भ्रमणको निमन्त्रणा पाए पनि कहिले जाने भन्नेबारेमा आधिकारिक धारणा आइनसकेको उनले बताए ।

‘हिजो विहान द प्रिण्टको एउटा समाचार आएको छ । त्यसले एउटा कन्फ्युजन क्रियट गरेको छ । तर, भारत सरकारको तर्फबाट आधिकारिक रुपमा त्यस्तो कुनै जानकारी आएको छैन । निम्तो आएको जानकारी आयो । कहिलेलाई फिक्स भएको हो, त्यो जानकारी पनि आएको छैन । अरु कारणले रोकिनुपर्ने कुरा त म देख्दिनँ । हिडन कारण र मेरो संज्ञानमा नभएको विषय वस्तु छन् भने म के भन्न सक्छु र ?’ उनले भने ।

साथै, उनले भारत, अमेरिका, इजरायल र पश्चिम युरोपसित सकारात्मक र सघन सम्बन्ध नभएमा कांग्रेसको भविष्य कुण्ठित हुने पनि बताए । उनले कांग्रेसमा कन्फ्युजन, आएको, कांग्रेस राजनीतिक, कुटनीतिक, विदेश सम्बन्ध र अर्थनीतिमा बरालिएको टिप्पणी गरे ।