काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसलाई आन्दोलनको रक्षा गर्न नसक्ने ‘टेस्टेड’ शक्ति भनेका छन् । हिजोदेखि गोदावरीमा जारी विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति रहेको र यसले २००७ सालपछिको क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न नसकेको उल्लेख छ ।
त्यस्तै, कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाइम बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन नसेको २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाएको र २०५९ सालमा प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
साथै, अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको अभियानको नेतृत्व गर्न नसक्ने पनि ओलीले दस्तावेजमा उल्लेख गरेका छन् । नवउदारवाद संसारभरि नै असफल भइसकेको र नेपालमा पनि यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।




प्रतिक्रिया