सामाजिक सञ्जाल बन्द गराउनु गलत हो, सरकारको शैली व्यवहारिक छैनः कांग्रेस नेता विश्वकर्मा


काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भनिसकेको बताए ।

‘हामीले प्रष्ट बोलेका के छौं भनेदेखि– सामाजिक सञ्जाल बन्द गर्न हुँदैन । तर, यसको वैधानिक कार्यान्वयन पनि जरुरी छ । वैधानिक बनाउनको लागि सरकारले कूटनीतिक तथा प्राविधिक रुपमा अन्य उपायहरु खोजी गर्नुपर्छ । एक्कासी बन्द गर्नु गलत हो भनिसकेका छौं,’– नेता विश्वकर्माले भने ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने कुरामा सरकारको काम गर्ने ढंग नपुगेको उनले बताए । सरकारले यो अवस्था आउनुभन्दा पहिला नै यसको व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । नागरिकले प्रयोग गर्दै आएको सूचनाको माध्यमहरुलाई सहज ढंगले प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।

यद्यपि सरकारले आफ्नो कानूनी दायरामा पनि राख्नुपर्ने उनको भनाइ छ । ‘तपाईँ हामीले व्यापार गर्न पाउनुपर्छ । तर, तपाईँ हामीले गरेको व्यापार राज्यलाई थाहा हुनुपर्छ,’– उनले भने ।

सामाजिक सञ्जाल बन्द गराएर सरकारले अहंकार देखाएजस्तो गरेको पनि उनले टिप्पणी गरे । नेता विश्वकर्माले तिमी दर्ता गर्न आउँछौं भने आउ, नत्र बन्द गरिदिन्छौं भन्ने सरकारको शैली व्यवहारिक नरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल बन्द हुँदा तल्लो तहका नागरिकहरुमा झनै समस्या परेको उनको भनाइ छ ।

‘अहंकार देखाएको जस्तो । सरकारले हामी सरकार हो । तिमीहरु सबै आउँछौं भने आओ, नत्र रोकिदिन्छु भन्ने ढंगको अहिले जुन गतिविधि भयो । त्यही चाहिँ गतिविधि व्यवहारिक देखिएन, नागरिकको हितमा देखिएन । किनभने नागरिकले सामाजिक सञ्जालबाट व्यापार गरिराखेका छन्, सामाजिक सञ्जालबाट आफ्नो कार्यालय सञ्चालन गरिराखेका छन् । तपाईँ हामीलाई नै बाधा परेको छ भने तल्लो तहका सामान्य नागरिकहरुलाई त झन कति समस्या परेको होला । सम्पर्क विच्छेद भएको छ,’– उनले भने ।