एकीकृत समाजवादीका उपाध्यक्ष ज्वालाले मागे प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा


काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । जेन–जी पुस्ताको प्रदर्शनमा सरकारले व्यापक दमन गरेको कारण मानवीय क्षति भएकोप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

‘यो तहमा दमन गरिसकेपछि, यतिधेरै नागरिकको ज्यान अनाहकमा गइसकेपछि प्रधानमन्त्री र गृहमन्त्री चाहिँ त्यो पदमा बस्न मिल्दैन । उनीहरुले राजीनामा गर्नुपर्छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा ज्वालाले भने ।

सरकारको यस प्रकारको शैलीलाई उनले गैरजिम्मेवार रवैया र जनविरोधी क्रियाकलापको संज्ञा दिए । सरकारले शान्ति सुरक्षा बलियो बनाएर, नियन्त्रण गरेर जानुपर्नेमा निर्मम दमनमा उत्रिएको उनको भनाइ छ ।

आजको प्रदर्शनमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले यसमा घिउ थप्ने काम गरेको उनले बताए । ‘जेन–जी भनेको कसैको कमाइखाने भाँडो हो भन्ने प्रकारका उत्तेजक अभिव्यक्तिहरु दिने, समस्या समाधानको पहल नगर्ने र दमन गर्नेखालको पहिला नै सरकारले सन्देश प्रवाह गर्यो,’– उनले भने ।

जेनजी प्रस्तालाई सडकमा ल्याउन सरकारको भूमिका ठूलो रहेको उनको भनाइ छ । नेता ज्वालाले सरकारले आफ्नै कारणले समस्या उत्पन्न गराएको बताए । ‘सामाजिक सञ्जालहरु एकाएक बन्द गरियो । यो गलत नियतले बन्द गरियो । कोही बोल्न, लेख्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनेगरी, अभिव्यक्ति स्वतन्त्रतालाई निमोठ्नेगरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो । यो मुख्य उद्धेश्य भनेको आफूलाई प्रश्न कसैले नगरोस् । प्रश्न गर्न नदिने नियतले बन्द गरियो । यो कुरा बेठीक थियो । यसको जग त त्यो हो,’– उनले भने ।