कृषिमन्त्री अधिकारीले दिए राजीनामा


काठमाडौं, २४ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन–जी प्रदर्शनका क्रममा सरकारले व्यापक दमन, हत्या र बल प्रयोगको सहारा लिएको भन्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला सरकारले दमन, हत्या र बल प्रयोगको सहारा लिनुले सरकार तानशाही व्यवस्थातर्फ उन्मुख भएको हो कि भन्ने कुरालाई आफूलाई झस्काएको पनि उनले बताएका छन् ।

‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो, यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु,’– उनले भनेका छन् ।