रगतको होली खेल्ने प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख खापुङलाई गिरफ्तार गरी मुद्दा चलाउनुपर्छः वरिष्ठ अधिवक्ता भण्डारी


काठमाडौं, २४ भदौ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मानवताविरोधी अपराधमा तत्काल गिरफ्तार गरी कारबाही अगाडि बढाइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनलाई दमन गरेर ओली, लेखक र खापुङले मानवताविरोधी अपराध गरेको बताएका हुन् । उनीहरुमाथि घरेलु रुपमा पनि मुद्दा चलाइनुपर्ने र त्यतिले मात्रै नपुगेर अन्तर्राष्ट्रिय निकायहरुमा पनि मुद्दा दायर गरिनुपर्ने उनको भनाइ छ ।

‘केपी ओली, गृहमन्त्री रमेश लेखक र अहिलेका आईजीपीले जसरी मानवताविरोधी काम गर्नुभएको छ, मानवताविरोधी अपराध गर्नुभएको छ । यसमा गिरफ्तार गरेर, मुद्दा चलाएर दण्डित गर्नुपर्छ । मानवताविरोधी अपराधमा संलग्न, नागरिकहरको रगतको होली खेल्ने केपी ओली प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीमाथि मानवताविरोधी अपराधमा घरेलु रुपमा पनि मुद्दा चलाइनुपर्छ । यदि घरेलु रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय निकायमा पनि मुद्दा चलाइनुपर्छ,’– उनले भने ।

साथै, उनले जेन–जी आन्दोलनका क्रमा मृत्यु वरण गरेका १९ जना व्यक्तिलाई नागरिकको तर्फबाट सहिद घोषणा गर्नुपर्ने बताए । ‘सरकारले त आफ्नो वैधानिकता गुमाइसकेको छ । यसले सहिद घोषणा गर्नु र नगर्नुको कुनै अर्थ नै छैन । अब प्रत्येक नागरिकले उहाँहरुलाई सहिदको रुपमा सम्मान दिनुपर्छ भनेर आम नागरिकसमक्ष अपिल गर्दछौं,’– उनले भने ।

साथै, डा. भण्डारीले अबको आन्दोलन त्यसै निस्तेज पार्न नहुने बताए । उनले यो आन्दोलन सामाजिक सञ्जाल खोल्नका लागिमात्रै गरिएको नभएर मुलुकका समस्या समाधान गर्नका लागि गरिएको बताए । सरकारले जेन–जी आन्दोलनलाई मत्थर पार्नका लागि सामाजिक सञ्जाल खोलेर षड्यन्त्र गरेको उनको भनाइ छ । ‘सरकारले रातारात सामाजिक सञ्जाल खोलेको छ, यो षड्यन्त्रपूर्ण छ । जेन–जी आन्दोलनलाई मत्थर पार्नका लागि गरिएको षड्यन्त्र हो,’– उनले भने ।