अबको निकासबारे स्वागत नेपालः राष्ट्रपतिको ठाउँमा राजा, जेन-जी पुस्ताबाट प्रधानमन्त्री


काठमाडौं, २५ भदौ । अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले अपदस्त गरेको घोषणा गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपालको संविधानको धारा २६७ बमोजिम नेपाली सेनाले राष्ट्रपतिलाई अपदस्त गरी अन्तरिम सरकार घोषणा गर्नसक्ने उनले बताए । अधिवक्ता नेपालले अब राष्ट्रपतिको ठाउँमा राजा र अन्तरिम सरकारको प्रधानमन्त्री जेन–जी पुस्ताबाट हुनुपर्ने बताए ।

‘प्रधानसेनापतिले अन्तरिम सरकार जेन–जी पुस्ताबाट गठन गर्नुपर्छ । तर, नयाँ पुस्ताको भनेर नेपालका कुनै जेलेन्स्की जन्माउन हुँदैन । नेपाली सेनाले राजालाई पुनर्बहाली भएको घोषणा गरेर अन्तरिम सरकारको घोषणा गर्नुपर्छ । राष्ट्रपतिको ठाउँमा राजा र अन्तरिम सरकारको नेतृत्व जेन–जी पुस्ताबाट हुनुपर्छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।

यसका लागि सबैभन्दा पहिला संसद् विघटन हुनुपर्ने उनले बताए । केपी ओली नेतृत्वको सरकारले सार्वभौमसत्ताको अन्त्य गरेको उनको आरोप छ । अधिवक्ता नेपालले राष्ट्रपति पौडेललाई ‘सार्वभौमसत्ता बेचेर भात खाने मान्छे’ को संज्ञा दिए । जेन–जी पुस्ताका कसैले पनि अब राष्ट्रपति पौडेलबाट शपथ लिन नहुने उनको भनाइ छ ।