जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना निर्माणका लागि कांग्रेसमा आस्था राख्ने युवाहरुले सुरु गरे अभियान


काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरुले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन् । जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरु पुनर्निर्माणका लागि कांग्रेसमा आस्था राख्ने युवाहरुले श्रमदान र आर्थिक सहयोगको अभियान सुरु गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महाधिवेशन प्रतिनिधि एवं शंकरदेव क्याम्पस स्ववियू सचिव मदन उपाध्यायले सरकारले आर्थिक सहयोगका लागि पुनर्निर्माण कोष खोल्न आवश्यक रहेको बताए । सरकारले पुनर्निर्माण कोष खोलेको खण्डमा कांग्रेसमा आस्था राख्ने युवाहरुले आफूले सकेको आर्थिक सहयोग सोही कोषमा जम्मा गर्ने उनले बताए ।

‘सरकारले पुनर्निर्माण कोष खोलोस् । हामी अभियान सुरु गर्छौं । ‘यो दशैं आफ्ना लागिसँगै देशका लागि पनि’ भन्ने नाराका साथ कांग्रेसप्रति आस्था राख्ने युवाहरु आर्थिक सहयोगका लागि तयार छ । साथै, हामी जो–जहाँ छौं, त्यही रहेर ३० दिने श्रम अभियान पनि चलाउने निर्णय गरेका छौं,’– उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भको कारण वर्तमान अवस्थाको सिर्जना भएको कांग्रेसप्रति आस्था राख्ने युवाहरुको ठहर छ । विषम परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझपूर्ण कदम र नेपाली सेनाको जिम्मेवारपूर्ण भूमिकाले देश पुनः शान्ति पथमा अग्रसर भएको उनीहरुको निष्कर्ष रहेको छ । अन्तरिम सरकारलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट रहेको स्मरण गराउँदै उनीहरुले वर्तमान सरकार आफ्नो म्यान्डेटअनुसार काम गर्न सफल हुनुपर्ने धारणा रहेको छ ।

‘देश पहिचान गराउने संरचना ध्वस्त भएका छन् । यस घटनाले हामीलाई भावविह्वल तुल्याएको छ । यस विषम परिस्थितिमा देशका प्रजातान्त्रिक युवाहरूले एउटा साझा अभियानका माध्यमबाट नेपाल पुननिर्माणको संकल्प लिएका छौं । र, सोही अनुरुप हामीले देशको पुर्नसंरचना निर्माणमा एक महिना आर्थिक र भौतिक श्रमदान अभियानको थालनी गरेका छौं । यसका साथै नेपाली कांग्रेसको भौतिक संरचना निर्माणमा र क्षति स्थानीय तह पुर्ननिर्माणमा पनि हामी एक महिना सक्रियताका साथ काम गर्ने छौं,’– जारी विज्ञप्तिमा भनिएको छ ।