आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की


काठमाडौं, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रजातान्त्रिक विधिबाट चुनिएको केपी शर्मा ओलीको सरकार जेनजी आन्दोलनबाट अपदस्थ भएपछि गत भदौ २७ मा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले बेलुकी ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो। भदौ २३ र २४ को जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ मा निर्वाचनको घोषणा गरेको छ।हालसम्म कार्कीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् भने अझै धेरै मन्त्रालयमा मन्त्री पद रिक्त छन्।