इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला यूएईबाट पक्राउ


काठमाडौं, १० असोज । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई यूएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ ।

पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

“ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन्,” उनले भने, “प्रहरीले यूएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ ।”

उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तरार्ष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । रासस