महेश बस्नेतले आफ्नो जलेको घरलाई ध्वंसात्मक सङ्ग्रहालय बनाउने


काठमाडौं, असोज १० । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा जलेको आफ्नो घरलाई ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलाइएको घरलाई ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्ने र घर जलाउन आवश्यक थियो कि थिएन भनेर जनताले समीक्षा गर्ने बताएका छन् ।

उनले लेखेका छन् ‘मेरो जलेको घर लामो समयसम्म ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्नेछु । मेरो घर हेरेर सबैले समीक्षा गरुन् त्यो घर जलाउन आवश्यक हो कि होइन?’

सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास, उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेको दाबी गर्दै महेशले आफ्नो सारा जीवन जनताको निम्ति समर्पण गरेको दाबी गरेका छन् ।

‘सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेँ। मेरो सारा जीवन मैले जनताको निम्ति समर्पण गरेँ,’ उनले भनेका छन्, ‘यही गरे बापत मेरो घर जलाइन्छ मलाई बदनाम गरी मार्ने प्रयास गरिन्छ मेरो परिवारलाई जिउँदै जलाउने प्रयत्न गरिन्छ । निर्दोष छोराछोरीलाई समाजमा हिँड्न गाह्रो बनाइन्छ ।’

उनले आफू यसबाट नडराउने र बरु मर्न तयार रहने तर आफ्नो कर्तव्य र जनताको हितबाट कहिल्यै पछि नहट्नेसमेत जिकिर गरेका छन् ।