राजमार्ग अवरोधः खसीबोकाको किनबेच यथावत


काठमाडौँ, १३ असोज । लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन ।

मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।

यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब  २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो  सात सयदेखि  सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष  सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् ।  किसानका गोठबाट व्यापारीले प्रतिकिलो  ६१० ले बेचेका छन् ।

काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रीको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ ।

“अहिले बसको डिकीमा खसी बोकालाई हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन् । दसैमा काठमाडौँको बजारलाई चाहिले जति खसी बोकोको व्यवस्थापन हामीले मिलाउन कोसिस गरिरहेका छौँ ।’’, काठमाडौँका टुकुचास्थित पशुचौपाया खरिबबिmी सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले भन्नुभयो, “लगातारको वर्षाँ र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।’’

काठमाडौँमा दसैँका अवसरमा वर्षेनी सिन्धुली, रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसी बोका ल्याइने गरेका छन् । भेडा च्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्षित गरी टुकुचा खसी बजारमा हालसम्म करिब नौ हजारको सङ्ख्यामा खसीबोका ल्याइसकिएको छ ।

टुकुचा बजारमा खरिदबिक्रीका लागि अहिले एक हजार बढी खसीबोका राखिएका छन् । यसवर्ष जीउँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ । बाटो अवरुद्ध भएकाकारण व्यापारी र किसानले विगतको जस्तो सजिलोसँग खसीबोका ल्याउन सकेका छैनन् ।

मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मको खसी आएको ‘रेकर्ड’ छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ । अझ लेकमा चरेको खसी बढी गुणस्तर हुनेगर्छ । विगतको जस्तो धेरै मोटो खसीबोका खोज्ने उपभोक्ताको सङ्ख्या कम छ ।

अहिले दाना नखुवाएका चरनका खसी बोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वथ्य खसीलाई हरियो, बिरामी खसीलाई रातो रङ दिइएको छ । रासस