काठमाडौं, असोज १५ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर आज सर्वसाधारका लागि खुला गरिएको छ। तलेजु भवानीको मन्दिर वर्षमा एक पटक विजयादशमीको अघिल्लो दिन महानवमीमा मात्रै खुला गरिन्छ । मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुने भएपनि सर्वसाधारणका लागि भने आज एक दिन मात्रै पूजाका लागि खोलिन्छ । हनुमानढोक दरबार हेरचाह अड्डाका अनुसार तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याउने र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काउने चलन रहेको छ ।
मूलचोकमै हिजो महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चल्दै आएको छ। पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै रहेकाले यहाँ हरेक वर्ष राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित तान्त्रिक विधिले कालरात्रि पूजा हुने गरेको छ । हरेक वर्षको दसैँमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ। नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन्।
पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए। ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउथे। देवीदेवता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो। सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुला गरिएको छ ।
बाराको सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा भित्रिएको तुलजा (तलेजु) भवानी अहिले पनि मल्ल राजाहरूको कुलदेवता मानिन्छ। तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन्। राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाएका थिए। त्यहाँ पूजा गर्न विधि–विधान पुर्याउनुपर्छ। त्यसका लागि ज्योतिषकहाँ गएर तिथिमिति हेराएर, शुभसाइत र शुभमिति जुराउनुपर्छ। त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ। राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् ।
यस मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ। काठमाडौँ उपत्यकाका तीन सहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर रहेको छ।




प्रतिक्रिया