जयपुर (भारत), २० असोज । जयपुरको सवाई मानसिँह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको कार्यालयले ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियुमा आगलागी हुँदा छ जनाको ज्यान गएको जनाइएको छ ।
एसएमएस अस्पतालको प्रेस विज्ञप्तिका अनुसार आइतबार राति करिब ११ः२० बजे ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियु– १ मा बिजुलीको सर्किट सर्ट भएका कारण आगलागी हुँदा सम्पूर्ण आइसियु धुवाँले भरिएको थियो ।
ट्रमा सेन्टरको न्युरोसर्जरी आइसियु– १ मा ११ जना बिरामीलाई भर्ना गरिएको थियो, जसलाई तुरुन्तै ट्रमा सेन्टरको अन्य आइसियुमा सारिएको थियो भने छ जना बिरामीको मृत्यु भएको हो ।
अस्पताल प्रशासनका अनुसार आइसियु– १ मा लागेको आगोलाई फायर ब्रिगेड, अस्पताल कर्मचारी, नागरिक सुरक्षा र प्रहरी प्रशासनले तुरुन्तै नियन्त्रण गरी अन्य वार्ड र आइसियुमा फैलिनबाट जोगाएको थियो ।
गृहमन्त्री अमित शाहले जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरको आइसियुमा आगलागी विरामीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । शाहले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले घटनाको पुष्टि गर्दै घटना दुःखद भएको र स्थानीय प्रशासनले बिरामीहरूको उपचार र सुरक्षाका लागि आवश्यक तथा सम्भावित कदम चालेको जनाएको छ । रासस




प्रतिक्रिया