काठमाडौं, २१ असोज । जेन–जी आन्दोलनमाथि दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने दवाब बढ्दै गएको छ । जेन–जी अगुवाहरुले ओली र लेखकलाई पक्राउ गर्न भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् । तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर जेन–जी अभियन्ता सुदन गुरुङ सोमबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेका थिए । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न भने मानेन ।
तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलगायतलाई पक्राउ गर्न भन्दै जेन–जी समूहले दवाब बढाएपछि प्रधानमन्त्री सुशीला कार्कीले हिजो (सोमबार) साँझ गृहमन्त्री ओम प्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिईन् । छलफलका क्रममा गृहमन्त्री आर्यालले भने ओली, लेखकसहितलाई तत्काल पक्राउ गर्नुपर्ने पक्षमा जोड दिएका थिए । गृहमन्त्री अर्यालले ‘ओली, लेखकलाई मंगलबार (आज) नै पक्राउ गर्न मिल्दैन ?’ भनी प्रहरी प्रमुखलाई प्रश्न गरेका थिए । यस प्रश्नमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले भने ठोस जवाफ नदिएको स्रोतले बतायो ।
‘गृहमन्त्रीज्यूले केपी शर्मा ओली, रमेश लेखकलगायतलाई आजै (मंगलबार नै) पक्राउ गर्न जोडबल गर्नुभएको थियो । उहाँले प्रहरी प्रमुखलाई उनीहरुलाई भोलि नै (मंगलबार) पक्राउ गर्न मिल्दैन ? भनेर प्रश्न गर्नुभएको थियो । तर, प्रहरीबाट प्रश्नको ठोस जवाफ आएको छैन । सकेसम्म उनीहरुलाई छिट्टै पक्राउ गर्नुपर्ने पक्षमा गृहमन्त्री हुनुहुन्छ,’– रिपोर्टर्स नेपालसँग स्रोतले भन्यो ।




प्रतिक्रिया