तत्काल संसद् फिर्ता गर्ने माग राखेर अघि बढ्नेबाहेक हामीसँग अर्को विकल्प छैन, आन्दोलन सिर्जना गरेर अघि बढ्नुपर्छ : ओली


काठमाडौं, २३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधानविपरित संसद् विघटन गर्ने अधिकार कहाँबाट प्राप्त गर्यो भनेर प्रश्न गरेका छन् । आज (बिहीबार) एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् विघटन असंवैधानिक भएको दाबी गरेका छन् ।

उनले संविधान र संसद् कायम राखेर निकास खोज्नको लागि त्यतिवेलाका निर्णायक पक्षहरुको पनि सहमति रहेको खुलासा गरेका छन् । उनले भने,‘मसँग कुरा हुँदा संविधान कायम राख्ने, संसद् कायम राख्ने, संविधान र संसद्भित्रबाट निकास खोज्ने कुरामा सबैको सहमति थियो । तर, वार्ता सरकारले गर्न नपाउने, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अरुले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ यस्तो ? दलहरु जो संविधानका निर्माता हुन्, उनीहरुले हेर्न नपाउने, अनि अचानक भुईंफुट्टा तत्वहरु निकालेर शासनको गफ गर्ने ।’

उनले देशलाई सही बाटोमा फर्काउनको लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर बढ्नेबाहेक अर्को विकल्प नभएको दाबी गरे । उनले भने,‘अब हामीले देशलाई सही बाटोमा फर्काउनको लागि असंवैधानिक ढंगले विघटन गरेको संसद्लाइृ तत्काल फर्काउनुपर्छ । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक प्रणालीमा फर्काउन । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चालेनौं भनेर पछि ढिला भएछ भनेर पछुतो हुन्छ । संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । यो देशको अहितमा छ । फागुन २१ गते पर्खनुपर्ने छैन । अगाडि बढ्नुपर्छ । नेपाली जनता आन्दोलन सिर्जना गरेर अघि बढ्नुपर्छ ।’