काठमाडौं, २४ असोज । अर्थविद् एवं राजनीतिक विश्लेषक प्रा.डा.गोपीलाल न्यौपानेले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई थुन्ने ल्याकत नराख्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो सरकारको काम निर्धारित समयमा निर्वाचन गराउनेमात्रै रहेको बताएका हुन् । जेन–जी आन्दोलनमा भएको दमनको सन्दर्भमा चुनाव पछाडि बन्ने नयाँ संसद् र सरकारले कसलाई थुन्ने वा नथुन्ने भन्ने निर्णय गर्न सक्ने उनले बताए ।
‘यो सरकारले ६ महिनाको समय पाएको छ । सबै निर्वाचनमा जानुपर्छ । जेन–जीहरुले पनि पार्टी खोलेर निर्वाचनमा जाने । कांग्रेस, एमाले, माओवादी पनि आउँछन् । राजावादी पनि आउँछन् । सबै मान्छे आउँछन्, प्रतिस्पर्धा गरेर नयाँ संसद् गठन गर्ने र त्यो नयाँ संसद्ले कसलाई कारबारही गर्ने हो, त्यसले गर्ने हो । यो सरकारले कसैले थुन्न सक्दैन । थुन्ने ल्याकत राख्दैन । थुन्ने माण्डेट पनि छैन यो सरकारलाई । यो सरकारको काम भनेको निर्वाचन गराउने मात्रै हो,’– उनले भने ।
साथै, उनले जेन–जी आन्दोलनमा विदेशीहरुको पनि सहभागिता रहेको आरोप लगाएका छन् । उनले जेन–जी आन्दोलनको प्रोसेश अत्यन्त घिनलाग्दो पनि रहेको उनले बताए । राजनीतिक विश्लेषक डा.न्यौपानेले २००७, ०४६ देखि नेपालमा भएका विभिन्न आन्दोलनमा विदेशीको सहभागिता रहेको दाबी गरे । उनले भने, ‘विदेशीको पनि सहभागिता छ । यसको परिणाम जे आयो, त्यो परिणामलाई स्वीकार गरेको मात्रै हो । तर यो भित्रको प्रोसेश अत्यन्तै घिनलाग्दा पनि छन् । २००७ सालको आन्दोलनमा पनि विदेशीको सहभागिता छ, ०४६ सालको आन्दोलनमा पनि छ । त्यसपछिको हरेक आन्दोलनमा विदेशीको सहायता त छ नि नेपालमा ।’ File Photo/RN




प्रतिक्रिया