काठमाडौं, २६ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग हुने भनिएको सम्भावित पार्टी एकतामा विमति जनाएका छन् । हाल रविलक्ष्मी चित्रकारको उचारका क्रममा दिल्लीस्थित एपोलो हस्पिटलमा रहेका खनालले माओवादीसँगको एकता प्रक्रियालाई लक्षित गर्दै कुबेलाको सहनाई बजाउनतिर कोहि पनि लाग्न नहुने बताएका छन् । अहिले पार्टी एकीकरणको मौसम नरहेको बताउँदै उनले गलत दिशामा हिँडेर भड्खालोमा पर्ने र अरुलाई पनि पार्ने दिशातिर नलाग्न आग्रह गरेका छन् ।
‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं,’– उनले भनेका छन् ।
नेता खनालले सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरेर एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरी प्रतिनिधिसभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढ्न भनेका छन् । उनले सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।




प्रतिक्रिया