माओवादी ‘वान्स मोर प्रचण्ड’ भनेर अगाडि बढ्छ, अरु कसैलाई पनि प्रधानमन्त्री बनाउँदैनः रञ्जित तामाङ (भिडिओसहित)


काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक कसैलाई पनि प्रधानमन्त्री नबनाउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल ब्याटल जोनमा परिणत हुने र स्वाधीनता नै खतरामा पर्ने स्थितिमा माओवादी ‘वान्स मोर प्रचण्ड’ भनेर अगाडि बढ्ने बताएका हुन् ।

‘हाम्रो पार्टीको तर्फबाट त माओवादीले आफ्नै प्रधानमन्त्री बनाएर जान्छ । त्यसमा हामी छैनौं । …..अहिले नेपालको राष्ट्रियता नै खतरामा पर्ने जो स्थिति छ, यो स्थितिमा हामी पनि अध्ययन गर्दैछौं । वैदेशिक हस्तक्षेप हुने र नेपाल ब्याटल जोनमा परिणत हुने, राष्ट्रियता र नेपालको स्वाधीनता नै खतरामा पर्ने स्थिति भयो भने चाहिँ हामी ‘वान्स मोर प्रचण्ड’ भनेर जान्छौं,’– उनले भने ।

साथै, पार्टीमा पनि ९० प्रतिशत नेता तथा कार्यकर्ताले प्रचण्डविनाको माओवादीको परिकल्पना नै नगरेको उनको भनाइ छ । पार्टीभित्र आजको दिनमा पनि प्रचण्डको क्रेज नघटेको उनको भनाइ छ । उनले प्रचण्डलाई ब्राण्डको रुपमा चित्रण गरे । उनले भने, ‘पार्टीको केन्द्रीय समितिमा ९० प्रतिशतभन्दा बढी नेता तथा कार्यकर्ताहरु आजको दिनमा पनि प्रचण्डबाहेकको माओवादीको परिकःल्पना गरिरहेका छैनन् । माओवादी भनेको प्रचण्ड हो, प्रचण्ड भनेको माओवादी हो । प्रचण्ड भनेको ब्राण्ड हो ।’

प्रचण्ड पार्टीको नेतृत्व छाड्न तयार रहेको अवस्थामा पनि नेता तथा कार्यकर्ताहरुको मनोभावना भने पार्टी नेतृत्वमा पनि वान्स मोर प्रचण्ड भन्ने नै रहेको नेता तामाङले बताए । उनले अब हुने माओवादीको विशेष महाधिवेशनबाट अहिले स्थायी समिति र पदाधिकारीका ४५ जनाको टिममध्ये बढीमा प्रचण्डसहित ५ जनालाई राखेर अरुलाई विदाइ गर्नुपर्ने बताए । यसरी आउने ५ जनाको पारदर्शी जीवन शैली, सकृय, सुशासनप्रति विश्वास दिलाउन सक्नेलगायतका गुण रहेको हुनुपर्ने उनले बताए ।

‘अहिलेको करिब ४५ जनाको स्थायी समितिको टिममध्येबाट बढीमा ५ जना राखेर ४० जना सिनियरहरुलाई विदाइ गर्ने कुरालाई हामीले पार्टीभित्रको ठूलो क्रान्ति र जेन–जी आन्दोलनको सन्देशको रुपमा हामीले बुझेका छौं,’– उनले भने ।