काठमाडौं, २७ असोज । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले जेन–जी आन्दोलनको क्रममा अराजकता मच्चाउने र गोली ठोक्न आदेश दिने दुवै पक्षलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेविसंघको बटमलाइन अराजकता मच्चाउनेहरु र गोली ठोक्न आदेश दिनेहरुलाई कानूनी कारबाही गर्नुपर्छ भन्ने रहेको बताएका हुन् ।
त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन शाहले सार्वजनिक रुपमा ती अवोध बालबालिकाहरुको दिमागमा सिंहदरबार जलाउनुपर्छ भन्ने माइनसेट गरिदिएको उनको आरोप छ । हिंसाबाट मात्रै क्रान्ति हुनसक्छ भन्ने माइनसेट युवाहरुमा बालेनले बनाइदिएको उनको आरोप छ । उनले यस सन्दर्भमा बालेनलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । त्यस्तै, हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङकाे भूमिकामाथि पनि उनले प्रश्न उठाए । गुरुङले राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रहरी प्रशासनलाई खुलम्खुल्ला चुनौति दिइरहेको उनले बताए । प्रहरी प्रशासनले जेन–जीको नाममा भइरहेको अराजकता कन्ट्रोल नगरेको खण्डमा नेविसंघले कन्ट्रोलको जिम्मा लिने पनि उनले बताए ।
‘सिंहदरबार जलाउनुपर्छ भनेर आन्दोलनको आह्वान गर्ने व्यक्तिलाई छानविनको दायरामा ल्याउने कि नल्याउने ? आज एक जना व्यक्ति हामीले घुमिरहेको देखिरहेका छौं । मैले पनि केही समय अघिदेखि चिनेको सुधन गुरुङ । जसले आज खुलम्खुल्ला राष्ट्रपतिलाई चुनौ दिएको सुनिराखेका छौं । प्रधानमन्त्रीलाई चुनौति दिएको सुनिरहेका छौं, आईजीपीहरुलाई चुनौति दिएको सुनिराखेका छौं । अब यही ढंगबाट कसैले अराजकता गर्छ भने, त्यो अराजकतालाई गृह प्रशासनले यदि कन्ट्रोल गर्दैन भने त्यो कन्ट्रोल गर्ने जिम्मा पनि नेविसंघले लिन्छ,’– उनले भने ।
अध्यक्ष शेर्पाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्ड र तत्कालीन गृहमन्त्री रमेश लेखकको नालायकीपनको कारणले पनि जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको बताए । उनले विध्वंश गर्ने र गोली ठोक्न आदेश दिने दुवै पक्षलाई कानूनी कारबाहीको दायरामा नल्याइएको खण्डमा नेविसंघ कलम छाडेर मसाल बोकेर अगाडि बढ्न बाध्य हुने चेतावनी दिए ।




प्रतिक्रिया