काठमाडौं, २८ असोज । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली कांग्रेसको पार्टी कार्यालय र सर्वोच्च अदालत नेकपा (माओवादी केन्द्र) निकट मान्छेहरुले जलाएको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको केन्द्रीय कार्यालय जलाउन माओवादीनिकट अखिल (क्रान्तिकारी) का प्रविण दाहाल र सर्वोच्च अदालत जलाउन नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुङ्गेल अग्रसर भएर गएको बताएका हुन् । त्यस्तै उनले रवि लामिछानेको मुद्दा विचाराधीन भएका सबै अदालतमा आगजनी भएको भन्दै तारतम्यले काम गरेको दाबी गरे ।
त्यस्तै, एमालेको पार्टी कार्यालय जलाउन भने आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोराको हात रहेको आरोप लगाए । उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय जलाउन को पुगेको थियो । प्रविण दाहाल भन्ने प्रचण्डको पार्टीको विद्यार्थी संगठनको कीर्तिपुरमा सभापति उठेर ४ भोटले हारेको प्रविण दाहालको नेतृत्वमा । भिडिओ हेर्नुस् । सर्वोच्च अदालत जलाउने को पुगेको थियो ? ल क्याम्पसको सभापति उठेको अखिल क्रान्तिकारीको व्यक्तिको नेतृत्वमा । प्रचण्डको कार्यालय अलि–अलि तोडफोड भएजस्तो हुने, एमालेको कार्यालय खरानी बन्ने । संयोगले काम गरेको छ यहाँ । रवि लामिछानेका सबै ठाउँका अदालतमा भएका मुद्दाहरुको मिसिलहरु सबै जल्नुपर्ने । रवि लामिछानेको मुद्दाहरु विचाराधीन नभएको ठाउँमा चाहिँ सुरक्षित हुनुपर्ने । के तारतम्यले काम गरेको छ ? प्रभु साहजीको सुपुत्रको नेतृत्वमा एमालेको केन्द्रीय कार्यालय जलाउनका लागि के–के गरिएको छ ? ती भिडिओहरु छैनन् र ?’




प्रतिक्रिया