एमालेसँग एकताको दाउमा प्रचण्ड, ओलीले नेतृत्व छाड्नुपर्ने पहिलाे शर्त


काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को नेतृत्वमा केपी ओली रहेसम्म एकता नहुने बताएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले एमालेमा ओलीको नेतृत्व नरहेको खण्डमा एकतको ढोका खुल्नसक्ने बताएका हुन् । ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’– उनले भने ।

साथै, उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने बताए । कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘अहिले मेरो जेन–जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ,’– प्रचण्डले भने । उनले उक्त भेटघाटमा नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिए ।