गृहमन्त्री अर्यालको आग्रह : राजनीतिक दलहरुले अहिले लुटिएका हतियार र कैदीबन्दीहरु प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्छ (भिडिओ-सहित)


काठमाडौं, २ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नेगरि रणनीतिक तयारीका साथ अघि बढेको बताएका छन् । आज बसेको सुरक्षा समितिको बैठकपछि गृहमन्त्री अर्यालले निर्वाचनको तयारीमा सरकार गम्भीरतापूर्वक लागेको बताएका हुन् । निर्वाचनको तयारीसम्बन्धी बैठकमा छलफल भएको उनको भनाई छ ।

उनले भने,‘आजको बैठकमा निर्वाचनको कामको तयारीबारे समितिले गरेको कामको समिक्षा भयो । अब यो अनुसार आफूमातहतको निकायलाई परिचालन गर्नुपर्छ । हामीले आफ्नो रणनीतिक योजनाहरु प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं । त्यसमा हामी अब पूर्ण क्षमतामा अगाडि बढ्छौं ।’

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा लुटिएका चार सय हतियार अझै रिकभर नभएको दाबी गरे । उनले भने,‘ती हतियार रिकभरको लागि हामीले अब विशेष कार्यक्रम चलाउँछौं । त्यसपछि अहिले भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि थप कार्यक्रम ल्याउँछौं ।’ निर्वाचनको सुरक्षा र शान्ति सुव्यवस्थाको लागि संयुक्त रुपमा सुरक्षा गस्ती गराउने पनि उनले घोषणा गरे ।

अहिलेको आान्दोलनमा लुटिएका सुरक्षाकर्मीहरुको हतियार कुनै संगठित गिरोह वा फोर्सको हातमा नपुगोस भन्नेमा आफूहरु सचेत रहेको र नपुग्नेपनि उनले दाबी गरे । उनले अहिलेका राजनीतिक दलहरुले अब ती आन्दोलनमा लुटिएका हतियार र कैदीबन्दीहरु प्रयोग गर्ने छैनौं भनेर स्वघोषणा गरिदिनुपर्ने अपेक्षा राखे । अरुबाट ती हतियार प्रयोग हुन नदिन सरकार सचेत रहेको उनको भनाई छ ।