काठमाडौं, कार्तिक ३ । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट आज नेपाल ल्याइँदै छ । फ्लाइ दुबईमार्फत आज दिउँसो २ः२० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जोशीको शव बुझ्न प्रधानमन्त्री र मन्त्रीहरु विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री, मन्त्रीहरू र चार वटै सुरक्षा निकायका प्रमुखहरुले विमानस्थलमै मृतक जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन वजे विमानस्थल जान लागेको जानकारी गराएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री घिसिङले होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नु परेकोप्रति गहिरो दुःख व्यक्त गर्दै यो केवल एउटा दुःखद मात्र नभएर हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना रहेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्
आज हामी एकजना वीर नेपाली छोरा, बिपिन जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन वजे एयर्पोर्ट जांदैछौं । यो खबर सुनेदेखि म स्तब्ध छु।हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
तर, त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। बिपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।
यो केवल एउटा दुःखद समाचार मात्र होइन। यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना हो। एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।
यस्तो अवस्थाको अन्तय गरी हरेक नेपालीले नेपालमै वसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविश्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न म आम नेपाली जनसमुदायमा अपिल गर्दछु ।




प्रतिक्रिया