आम जनताले ‘यो सरकारले भ्रष्टाचारीलाई छुन पनि सकेन’ भन्न थालेः मन्त्री पुन


काठमाडौं, ३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आम जनताले ‘यो सरकारले भ्रष्टाचारीलाई छुन पनि सकेन’ भन्न थालेको टिप्पणी गरेका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीहरुलाई पक्रिन र कारबाही गर्नका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काम ढिला भइरहेको बताए । कानूनी प्रक्रिया मिलाउने क्रममा काम ढिला भएजस्तो, काम नगरेजस्तो देखिए पनि काम भने भइराखेको उनले बताए ।

‘भ्रष्टचारीहरुलाई पक्रिने, भ्रष्टाचारीहरुलाई कारबाही गर्ने, विनाआधार पक्रिएर कारबाही गर्ने भन्ने चाहिँ हुँदैन । त्यसको लागि सबै कानूनी प्रक्रिया पुर्याउनु पर्यो नि । कानूनी प्रक्रिया पुर्याएर पक्राउ गर्ने आधारसम्म गएर बल्ल पक्राउ गरेर त्यसपछि न छानविन हुने हो । आम जनताको आवाज हामीलाई पनि थाहा छ, सुनिराखेका छौं, आम जनताको आवाज अहिलेको सरकारले भ्रष्टाचारीहरुलाई केही छुन पनि सकेन भन्ने कुरा छ । छुन सकेन होइन, जो–जो भ्रष्टाचारी छन्, तिनीहरुलाई पक्राउ गर्नका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्यो,’– उनले भने ।