काठमाडौं, ३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नी छोरी झरना पुन बंगलादेशमा पढ्दै गरेको स्वीकार गरेका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नी छोरीलाई करोडौं खर्च गरेर बंगलादेशमा पढाइरहेको स्वीकार गरेका हुन् ।
‘त्यो त साथीहरुले सहयोग गरेका छन् त । यो छोरीलाई पढाउँदाखेरी करोडौं रुपैयाँ खर्च गरेर पढायो भन्ने कुरा मैले प्रष्टैसँग भनेको छु । अहिले पो बंगलादेश पढ्न जाने भइछे त । बंगलादेशसम्म पढ्न जाने हुनलाई उनलाई कति खर्च चाहियो होला त ? त्यो खर्च कहाँबाट आयो होला त ? भन्नेलाई मुख थुन्न सकिँदैन,’– पत्रकार सम्मेलनमा उनले भने ।
यसअघि प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नी श्रीमती र दुई छोरीहरु पोखरामा रहेको बताएका थिए । तर, रिपोर्टर्स नेपालले पुनकी एउटी छोरी बंगलादेशमा एमबीबीएस पढिरहेको खुलासा गरेको थियो ।
‘तपाईँको परिवार अहिले कहाँ हुनुहुन्छ त ?’ भन्ने प्रश्नमा मन्त्री पुनले धमलासँग भनेका थिए, ‘पोखरामा छन् । दुईवटा छोरी छन् । पोखरामा बस्छन्, श्रीमती छन् । छोरीहरु एउटाले पढ्दैछ, एउटाले नर्सिङमा जागिर गर्दैछ ।’
रिपोर्टर्स नेपालले उनकी छोरी झरना पुन सन् २०२३÷२४ देखि जहुरुल इस्लाम मेडिकल कजेल बंगलादेशमा एमबीबीएस पढिरहेको खुलासा गरेको थियो । झरना पुतलीसडकको न्यूप्लाजमा रहेको आधार एजुकेशन लिमिटेडबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश गएकी थिईन् ।
यो पनि पढ्नुहोस्ः शिक्षामन्त्री पुनकी छोरी बंगलादेशमा डाक्टर पढ्दै, पोखरामा छिन् भनेर किन ढाँटे ?




प्रतिक्रिया